काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्। कास्कीको पोखरामा आजदेखि सुरु भएको जिल्ला पार्टी सभापति र जिल्ला प्रशिक्षण प्रमुखहरूको लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै देउवाले ओलीको प्रशंसा गरेका हुन्।
‘वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ । धेरै दुख कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो,’ उनले भने, ‘झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ । तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन ।’
उनले मुख्य प्रतिस्पर्धी दल एमालेसँग मिलेर सरकार बनाएको भएकाले केही समस्या आउन सक्ने भएकाले समाधान गरेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘मुख्य प्रतिस्पर्धी पार्टीसँग मिलेको हुनाले केही असहमति आउन सक्छन् । केही समस्या आउन सक्छन् । त्यो समस्या समाधान गर्नुपर्ने आवश्यक छ । स्थिरता भयो भने नेपालको विकास अझै हुनसक्छ । अहिले हुनुपर्ने जति विकास हुन सकेको छैन ।
‘दुई प्रमुख प्रतिस्पर्धी पार्टीहरूबिच गठबन्धनबाट सरकार बनाउने कुरा कसरी आयो भन्ने पनि आवाज उठेका छन् । अहिलेको बेला मात्रै होइन, धेरै वर्षसम्म एमाले र कांग्रेसबिच सहमति भयो भने राजनीतिक स्थिरता स्थापित हुन सक्दछ,’ उनले भने, ‘कतिबेला सरकार ढल्ने हो, कति दिन चल्ने हो भन्ने पनि थाहा हुँदैन । दुई वटा पार्टी मिलेर सरकार बनेको छ, यसको स्थायित्व स्पष्ट छ ।’
उनले देशको विकासका लागि ओली स्पष्ट भएपछि सँगै गठबन्धन गरेर गएको उनको भनाइ छ। देउवाले देशमा जुन विकास हुनुपर्ने हो त्यो गतिमा नभएकोले अझै गर्न बाँकी रहेको बताए। 'केही समस्या आउन सक्छन्। यसलाई समाधान गर्दै जानुपर्ने हुन्छ। स्थिरता भयो भने नेपालको विकास अझै धेरै हुन्छ भन्ने विश्वास छ। जुन विकास हुनुपर्ने हो भएको छैन,' उनले भने।
प्रतिक्रिया