×

बागी बनेर विजयी प्रदेश सांसद दीपेन्द्र पुन माओवादीमै फर्किए

images

काठमाडौं । रोल्पा क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । गत मंसिर ४ को निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनको आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनविरुद्ध माओवादी केन्द्रका दीपेन्द्रले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

दीपेन्द्र साढे ५ हजार भन्दा बढी मत अन्तरले विजयी पनि बने । दीपेन्द्रले १४ हजार ९२७ र अमरसिंहले १० हजार ४०६ मत पाएका थिए । दोस्रोपटक प्रदेशसभा सदस्य निर्वाचित भएका पुनले बुधबार बिहान माओवादी उपमहासचिव वर्षमान पुनसँगै बालुवाटार गएर अध्यक्ष प्रचण्डलाई भेटेर पार्टीमा फर्किएका हुन् ।

गठबन्धनको उम्मेदवारविरुद्ध बागी बनेपछि उनलाई पार्टीले निष्कासन गरेको थियो । पार्टीको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएर उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । 

अहिले दीपेन्द्रले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आत्मालोचना पत्र लेख्दै पार्टीमै फर्किन चाहेको बताएका छन् । उनलाई प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खादा लगाइदिएर स्वागत गरेका हुन ।

बुधबार २० पुस २०७९ ११:४५ AM मा प्रकाशित

प्रतिक्रिया