काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले उपचुनावमा जनता नयाँ विकल्प नपाएर पुरानै मध्येबाट एउटा दल छान्न बाध्य भएको बताएका छन् । स्थानीय तहका विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनको परिणामपछि पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिकेर, आ–आफ्ना कमजोरीहरू सच्याएर अर्कोपटक जनतालई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्ने उनको भनाइ छ । डा. भट्टराई थप लेख्छन्, ‘अन्यथा जनता अर्कै विकल्प खोज्न बाध्य हुनेछन् ।’
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– '
स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई बधाइ तथा धन्यवाद!
दुइ बर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको छ। साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एक अर्कोको विकल्प बनेकाछन्। यसको सोझो अर्थ हो जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य छन्।
नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिकेर, आआफ्ना कमजोरीहरू सच्याएर अर्को पटक जनतालई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्छ। अन्यथा जनता अर्कै विकल्प खोज्न बाध्य हुनेछन्।
प्रतिक्रिया