×

सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस अझै सकिएन, मुद्दा हेर्दाहेर्दैमा

images

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको छ । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् । 

कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो । बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म ४ सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि अब शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । 

बुधबारको बहसमा वादी नेपाल सरकारका तर्फबाट ४ जना सरकारी वकिल र तीन जना अधिवक्ताले बहस गरेका थिए । नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु लक्ष्मण उपाध्याय घिमिरे, महेश प्रसाद खत्री, कृष्णा भण्डारी, सहायक जिल्ला न्यायाधिवक्ता सुरविर परियारले बहस गरेका थिए । त्यसैगरी वादीकै पक्षबाट वरिष्ठ अधिवक्ताद्वय शशी अधिकारी र सुनिता रेग्मी तथा अधिवक्ता शान्ति काफ्लेले बहस गरेकी थिइन् ।

वुधबारदेखि सुरु भएको थुनछेक बहस बिहीबार पनि हेर्दाहेर्दैमा सकिएको छ । सन्दीपको पक्षबाट कृष्ण सापकोटा, लव मैनालीसहितका वरिष्ठ अधिवक्ताहरुले बहस गरिसकेका छन् । अब उनको तर्फबाट शम्भु थापाले मात्र बहस गर्न बाँकी छ । थापाले बहस गरेपछि सरकारी वकिलले पनि छोटो बहस गर्ने छन् । त्यसपछि न्यायधिश माधवप्रसाद घिमिरेले थुनछेक आदेश सुनाउनेछन् ।

प्रतिवादीका तर्फबाट बहस सकिएपछि आवश्यक भएमा पुनः सरकारी वकिलका तर्फबाट प्रतिवादीका वकिलले उठाएका विषयको जवाफ दिनेछन् । त्यसपछि न्यायाधीशले थुनछेक आदेश गर्नेछन् ।  बुधबारको बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेश गरेको दावी गरेका छन् । प्रतिवादीका तर्फबाट किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको विद्यालयको कागजात पेश गरिएको बताएका छन् । 

सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो। प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो।

सन्दीपविरूद्ध  १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो। २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो। भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

त्यतिबेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो। सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। 

प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ। उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

बिहीबार १७ कात्तिक २०७९ ०५:१२ PM मा प्रकाशित

प्रतिक्रिया