काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ आन्दोलन र विद्रोहले जन्म लिने बताएका छन् । आइतबार पेरिसडाँडामा सम्पन्न दोलखाको बोत्लेमा तत्कालीन सुरक्षाकर्मीद्वारा कायरतापूर्वक हत्या गरिएका १५ जना माओवादी योद्धाहरूको स्मृतिमा आयोजित सभामा बोल्दै प्रचण्डले आफुहरु अहिले नयाँ आन्दोलन र विद्रोह तिर अगाडी बढिरहेको बताएका हुन् ।
प्रचण्डले अहिले पार्टीलाई विभाजित गर्ने षड्यन्त्र र लगानी गरिरहेको बताउदै सबै माओवादी धाराहरुलाई एकात गरेर त्यस्लाई चिर्नुपर्ने बताएका छन् । अहिले माओवादी धारलाई एक हुन नदिन ब्याटल जारी रहेको भन्दै यो कसले जित्छ भन्ने अहिले भन्न नसकिने बताए ।
प्रचण्डले आफुहरुले अहिले क्रान्तिकारी र बामपन्थीहरुलाई एक गरेर प्रतिक्रियावादीहरुसँग लड्न बल गरिरहेको बताए । उनले एक पटक फेरी क्रान्ति गरेर प्रतिक्रियावादीहरुलाई परास्त गर्न आफु लागिरहेको समेत बताए । प्रचण्डले प्रतिक्रियावादीसँग अन्तिम लडाईं लड्न बाँकी नै रहेकाले क्रान्तिकारी कम्युनिस्ट पार्टीबिच एकता गरी नयाँ सङ्कल्प गर्न आवश्यक भएको जिकिर गरे ।
‘प्रतिक्रियावादी अपराधीहरूले हाम्रो पार्टीलाई विभाजन गर्न अनेक षड्यन्त्र गर्ने, जालझेल गर्ने, लगानी गर्ने तमाम काम गर्दै आएका छन् । जतिबेला हामी शान्ति सम्झौतामा आयौँ, त्यतिबेलादेखि नै षड्यन्त्र, छलछाम जारी नै छ’, उनले भने, ‘सबै क्रान्तिकारी कम्युनिस्टहरूबिच एकता गर्ने प्रयास गरेका छौँ । तर प्रतिक्रियावादीले ज्यान छोडेर लागेका छन् भन्ने कुरा पनि हामी सबैले बुझ्नुपर्ने हुन्छ । अन्तिम यो मुठभेडमा प्रतिक्रियावादीले जित्ने हो कि क्रान्तिकारी अग्रगामीले जित्ने फैसला अहिले नै भइहालेको छैन । वामपन्थी क्रान्तिकारीलाई एकताबद्ध पारेर प्रतिक्रियावादीलाई प्रतिवाद गर्ने हामीले कोसिस गरेका छौँ ।’
प्रतिक्रियावादी जाली फटाहाहरूले सहिदलाई अपमानित गर्ने, अवमूल्यन गर्ने निकै ठुलो कसरत गरिराखेकाले सचेत हुँदै अगाडि बढ्न बढ्नुपर्ने उनको भनाइ छ ।
‘हिजो जनतामा भ्रम छर्ने । क्रान्तिकारीलाई घेरा हाल्ने । निर्मम र नृशंस तरिकाले हत्या गर्ने । महिलाहरूमाथि चरम यातना र बलात्कारको बिभिसिका खडा गर्ने तत्वहरुले हामीलाई अहिले पनि कसरत गरिरहेका छन् । पछिल्लो केन्द्रीय समिति बैठकले सहिद, बेपता तथा घाइते परिवारको योगदानलाई जुन रूपमा पार्टीले सम्मान गर्नुपर्थ्यो, त्यसमा कमी भएको महसुस गरिएको छ । हामी प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध अगाडी बढ्ने जमर्को गरेका छौँ । फेरि एकचोटी नयाँ आन्दोलन र विद्रोहले जन्म लिँदैछ भन्ने सङ्कल्प सहित अगाडि बढिरहेका छौँ’, उनले भने ।
प्रचण्डले पार्टीको जारी स्थायी समिति बैठकमा छलफल र पार्टी एकतालाई अझ बलियो बनाउन बोत्ले हत्याकाण्डले सकारात्मक योगदान पुर्याउने विश्वास लिए ।
प्रतिक्रिया