नेकपा (एकीकृत समाजवादी) मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरू नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गर्नुभएको छ ।
आज शुक्रवार प्रतिनिधि सभा बैठकमा भाग लिन नयाँ बानेश्वमा रहेकाे संसद् भवन पुग्नुभएका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता देशकाे आवश्यकता भएको पनि बताउनुभयो । वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मूल नेता भन्नेहरू नै एकताको पक्षमा नरहेको उहाँको गुनासो थियो ।
उहाँले भन्नुभयो, ‘देशकाे आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर आफूलाई वामपन्थी आन्दोलनका मूल भन्ने नेताहरू नै एकताको पक्षमा छैनन् । नेताहरूले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा नबुझेसम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’
सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै खनालले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरूको कम उपस्थिति हुनु राम्रो नभएको बताउनुभयो । संसदलाई उपेक्षा गरेमा नराम्रा परिणामहरू आउने उहाँले बताउनुभयो ।
प्रतिक्रिया