×

कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिनेछ : प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन्।

बुधबार साँझ काठमाडौँमा पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालको भन्दा राम्रो नतिजा देखिने बताएका हुन्।

लोकार्पणमा प्रधानमन्त्रीले भने, ‘जतिबेला म दोस्रोपटक प्रधानमन्त्री थिएँ। त्यतिबेला पनि देश अप्ठ्यारो परिस्थितिमै थियो। संविधानप्रति विभिन्न बिमति र असन्तुष्टिहरू थिए।

मधेश आन्दोलनमा थियो, अर्थतन्त्र पनि उत्साहजनक थिएन। संघीय ढाँचाको टुंगो लगाउन बाँकी नै थियो। तर, निकै मेहेनत गरियो, परिणाम पनि राम्रो आयो।’

उनले थपे, ‘संघीयताको सफल अभ्यास गरियो। स्थानीय तहदेखि केन्द्रसम्मका चुनावहरू भए। आन्दोलनरत दलहरू पनि सहमतिको प्रक्रियामा आए।

अर्थतन्त्रमा राम्रो सुधार आयो। ७.५ अंकको आर्थिक वृद्धिदर हासिल गरियो, लोडसेडिङको अन्त्य भयो। ठूला आयोजनाहरूमा भौतिक र वित्तीय प्रगति पनि राम्रो भयो। यसपटक पनि त्यसभन्दा राम्रो गर्ने प्रयास भइरहेको छ।’

बुधबार २० बैशाख २०८० ०८:१२ PM मा प्रकाशित

प्रतिक्रिया