काठमाडौं। प्रतिनिधि सभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो। निर्धारित समयमा अर्यालको एकल उम्मेदवारी परेको हो।
सभामुख निर्वाचन भने चैत २२ गते हुनेछ। त्यसपछि अर्याल औपचारिक रूपमा सभामुख हुनेछन्। अहिले सभामुख पद रिक्त छ, प्रतिनिधि सभा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सञ्चालन गरेका छन्।
रास्वपा एक्लैको करिब दुई तिहाइ बहुमत भएकाले विपक्षी दलहरुले उम्मेदवारी दर्ता नै गराएनन्। अब आइतबार बस्ने प्रतिनिधि सभाको बैठकले औपचारिक रुपमा अर्याललाई सभामुख निर्वाचित भएको घोषणा गर्नेछ।
प्रतिनिधिसभामा रास्वपा दुई तिहाइ नतिजक छ। सत्तापक्षको स्पष्ट बहुमत भएकाले प्रतिपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी दिएनन्। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन्। नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद् छन्।
यसैबीच अर्यालले मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू संविधान र कानुनको परिधिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, ‘हामीसँग संविधान छ, कानुन छ। सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले नै निर्धारण गरेका छन्, म त्यही अनुसार अघि बढ्नेछु ।’
उनले सभामुखको जिम्मेवारी पाउने प्रक्रिया जारी रहेको उल्लेख गर्दै प्रक्रिया पूरा भई जिम्मेवारीमा पुगेमा संविधान, कानुन, जनताको हित र राष्ट्रियताको पक्षमा रहेर काम गर्ने स्पष्ट पारे । साथै, व्यवस्थापिकाले गर्नुपर्ने कामहरू न्यायसम्मत रूपमा अगाडि बढाउने उनको भनाइ छ ।
उनले भने, ‘मैले जुन जिम्मेवारी पाउँदै छु त्यसको निर्णय प्रक्रियामै छ । प्रक्रिया सक्किएर त्यो जिम्मेवारीमा पुगे भने नेपालको संविधान, नेपालको कानुन, नेपाली जनताको हितमा र राष्ट्रियताको हितमा व्यवस्थापिकाले गर्नुपर्ने काम न्याय संम्वद्ध मैले गर्ने छु ।’
प्रतिक्रिया