×

तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ : मन्त्री कार्की

images

नेपाल सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तागठबन्धन दलभित्रै अब हुने सबै निर्वाचनमा चुनावी गठबन्धन हुने बताउनुभएको छ । 

सुनसरीको वराहक्षेत्र नगरपालिका–१ वडा कार्यालयको भवन उद्घाटन कार्यक्रममा उहाँले आउने स्थानीय तहको निर्वाचनसँगै प्रदेश र सङ्घको निर्वाचनमा सत्ताघटक दलभित्रै चुनावी गठबन्धन हुने स्पष्ट पार्नुभयो । 

उहाँले अहिले सत्तागठबन्ध सबै निर्वाचनसम्म कायम रहने र गठबन्धन हुने ठाउँमा त्यही दलभित्र चुनावी तालमेल हुने बताउँदै गठबन्धन नहुने स्थानमा मित्रवत प्रतिस्पर्धा हुने उल्लेख गर्नुभयो । मन्त्री कार्कीले देशलाई विकसित र जनतलाई समृद्ध बनाउने अभियानका साथ वर्तमान सरकारले काम गरिरहेको दाबी गर्नुभयो । 

हाम्रो देशलाई १० वर्षभित्रमा एसियाकै धनी राष्ट्र बनाउने सरकारले लक्ष्य लिएको मन्त्री कार्कीले बताउनुभयो । उहाँले देशको विकास खोक्रो भाषणले नभई आर्थिक स्रोत व्यवस्थापन र योजनाले हुने भएकाले सोहीअनुसार अहिलेको सरकारले स्रोत व्यवस्थापन गर्नुका साथै विकास निर्माणको विभिन्न योजना लिएर अगाडि बढिरहेको दाबी गर्नुभयो । 

बराह क्षेत्रका जनतालाई मूल समस्याको रूपमा रहेको टेलिफोन, मोबाइलको टावर, विभिन्न सडक निर्माणको कार्य गर्नका लागि आफूले सक्दो बजेट व्यवस्थापन गर्ने मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनकुमार विश्वकर्माले एमसिसी सम्झौता अनुदान सहयोग भएको जिकिर गर्नुभयो । एमसिसीको विषयमा गलत प्रचार गरेर जनतालाई भ्रममा पार्नका लागि केही तत्व लागि परेको उहाँले बताउनुभयो ।

आइतबार​ २० चैत २०७८ ०८:५३ AM मा प्रकाशित

प्रतिक्रिया