काठमाडौं। पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सन्चालन गर्दैछ।
नेपाल वायुसेवा निगमले आज ३ अप्रिलमा काठमाडौं-दुबई, ४ अप्रिलमा दुबई-काठमाडौं, ५ अप्रिलमा काठमाडौं-दमाम र दमाम-काठमाडौं उडान भर्न लागेको हो। पश्चिम एसियामा विद्यमान तनाव तथा सुरक्षा अवस्थाका कारण यी क्षेत्रमा नियमित उडान गत फेब्रुअरी २८ तारिखदेखि स्थगित भएका थिए।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार चैत २० गते काठमाडौंबाट नेपाल वायु सेवाको आरए २२९ कल साइन भएको विमान दुबई जाने भएको छ।
उक्त विमानमा आउन पहिले नै टिकट बुक गराएका नेपाली नागरिकसहित आउन चाहनेले समयमै सम्पर्क गर्न भनिएको छ। चैत २१ गते दुबईबाट आरए २३० नम्बरको विमान नेपाल आउने कार्यतालिका रहेको छ।
चैत २२ गते काठमाडौंबाट आरए २४१ नम्बरको विमान साउदी अरेबियाको दमाम जाने तय भएको छ। दमामबाट सोही दिन आरए २४२ नम्बरको जहाज नेपाल आउने कार्यसूची रहेको छ।
सरकारले पश्चिम एसियामा जारी द्वन्द्वका कारण प्रभावित बनेका नेपाली नागरिकको उद्धारका लागि नेपाली ध्वजावाहक नेपाल वायु सेवाको विशेष उडान परिचालन गर्ने भएको हाे। पश्चिम एसियाका कतिपय देशबाट राम्ररी विमान उडान नहुँदा नेपाल फर्कन चाहेका कैयौँ नेपाली नागरिक ती क्षेत्रका विभिन्न मुलुकमा अलपत्र छन्।
परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा गत मंगलबार चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायु सेवा निगमका उच्चपदस्थ अधिकारीसहितको संयुक्त बैठकमा पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफलमा उद्धार गर्ने सहमति जुटेको थियो।
प्रतिक्रिया