×

जेल चलान भए सांसद चौधरी

images

धनगढी । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ। बिहिबार बाँकेबाट पक्राउ गरि काठमाडौं हुदै धनगढी पुर्‍याएको प्रहरीले शुक्रबार बिहान उनलाई कैलाली जिल्ला अदालतमा बुझाएको थियो। १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका  चौधरी जेल चलान भएका हुन । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका छन् ।

मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ । तर चौधरीले त्यसका लागि कुनै निवेदन नदिएकाले कैदी पूर्जी दिएर कारागार पठाइएको अदालतका निमित्त श्रेस्तेदार राजेन्द्र जोशीले जानकारी दिए । उनले भने, ‘१५५ को सुविधा लागि उहाँले कारागारबाटै निवेदन दिन सक्नुहुन्छ, जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन पनि गर्न सक्नुहुन्छ ।’

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते महादेव बजगाईले कैलाली जिल्ला अदालतमा उनीसहित तीन जना विरूद्ध मुद्दा दायर गरेका थिए। ट्याक्टरमा आगजनी गरेको कसुरमा अदालतले सांसद चौधरीलाई दोषी ठहर गरेको थियो। कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते सांसद चौधरीसहित परशुराम चौधरी र बिरबहादुर चौधरीका नाममा ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला सुनाएको थियो। 

बिहिबार दिउँसो सांसद चौधरीलाई बाँकेको बैजनाथपुरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई हवाईजहाजमार्फत नेपालगञ्जबाट काठमाडौं र त्यहाँबाट धनगढी ल्याइएको थियो।  कारागार चलान भएका सांसद चौधरी २०७४ सालको स्थानीय तह चुनावमा जलाइएको ट्याक्टरका धनी महादेव बजगाईँसँगै लम्कीचुहा नगरपालिको मेयरमा उम्मेद्वार बनेका थिए।

मेयरमा हारेका उनी २०७४ कै प्रदेश सभा सदस्य पदको निर्वाचनमा कैलाली–२ को ख बाट नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार भएर निर्वाचन लडेका थिए। २०७९ मंसिर ४ गतेको चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । चौधरीलाई पक्राउ गरिएपछि रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टी, थारु कल्याणकारिणी सभा लगायतले  आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

तर प्रहरीले भने फौजदारी अभियोगका अभियुक्तलाई पक्रन सभामुखको अनुमति लिन नपर्ने व्यवस्था भएकाले आफूहरुले कानुन अनुसार नै उनलाई पक्रेर फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको बताएको छ ।

शुक्रबार​ २० माघ २०७९ ११:१७ AM मा प्रकाशित

प्रतिक्रिया