×

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश फुयालको इजलासमा

images

 काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा दिएको निवेदनमाथि आज पहिलो सुनुवाइ हुँदैछ। लामिछानेको मुद्दा न्यायाधीश हरि प्रसाद फुयालको इजलासमा परेको छ। क्रिकेटर लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधिवक्ताको कार्यालयले माघ १७ मा सर्वोच्च अदालतमा निवेदन दिएको थियो। 

मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी शुक्रबार तोकिएको हो। महान्यायाधिवक्ताको कार्यालयले फौजदारी कार्यबिधि संहिता–२०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गर्न माग गरेको छ । यसअघि उच्च सरकारी वकिलको कार्यालयले सर्वोच्चमा जानुपर्ने राय महान्यायाधिवक्ताको कार्यालयलाई दिएको थियो ।

जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो । सो आदेश अनुसार २९ पुसमा रिहा भएका लामिछानेलाई क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरिसकेको छ । उच्च अदालत पाटनका न्यायाधीश न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले  शर्त सहित उनलाई रिहा गर्न आदेश दिएका थिए ।

उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो । मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने स्पष्ट कानुन छ। १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुन्छ। यो मुद्दामा पीडितको उमेर १७ वर्ष छ।  

‘उक्त दफा ६७ बाहेकको अवस्थामा मात्र अदालतले अभियुक्तसँग धरौट वा जमानत लिने वा तारेखमा राख्न सक्ने स्पष्ट विधायिकी कानुन रहेकोमा थुनाको विकल्प उदार हुनुपर्ने भनी आफूलाई प्राप्त अधिकार क्षेत्रभन्दा बाहिर गई विधायिकी मनसायविपरीत अभियुक्तलाई धरौट माग गर्ने गरी भएको उक्त आदेश बेरीतको हुँदा बदरभागी छ,’ निवेदनमा उल्लेख छ। 

शुक्रबार​ २० माघ २०७९ ११:३९ AM मा प्रकाशित

प्रतिक्रिया