काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय सभाबाट संघीय निजामती सेवा विधेयक, २०८० पारित भएको छ । मंगलबारको राष्ट्रिय सभाको बैठकले निजामती विधेयक सर्वसम्मतले पारित गरेको हो । विधायन व्यवस्थापन समितिले आजै पारित गरेर राष्ट्रिय सभामा पेश गरिएको यस विधेयकले कुलिङ पिरियड समबन्धि प्रतिनिधिसभामा भएको त्रुटिलाई सच्याएको छ । प्रतिनिधि सभाबाट पारित भएर आएको यस विधेयकमा ४३ सांसदहरुले १९३ बुँदामा संसोधन प्रस्ताव दर्ता गराएका थिए भने १४७ दफामा रहेको यस विधेयकलाई समितिले प्रस्तावनासहित ९८ दफामा संशोधन र एक दफा र एक अनुसुची थप गरेर समितिले परिमार्जन गरेको थियो ।
२- नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजसँग हुने ऐतिहासिक टी-२० सिरिजको खेल नयाँ तालिका सार्बजनिक गरेको छ । क्यानले एशिया कपका कारण खेल तालिका केहि परिवर्तन भएको जानकारी दिदै सेप्टेम्बर २७, २९ र ३० मा खेल हुने जानकारी दिएको छ । नेपाल र वेस्ट इन्डिजबीचको यो सिरिज युएईको शारजाह क्रिकेट स्टेडियममा हुदैछ । यसअघि क्यानले सेप्टेम्बर २७, २८ र ३० मा हुने जानकारी दिएको थियो । अस्ट्रेलिया टूर सकेर आजै स्वदेश फर्किएको नेपाली क्रिकेट टिमले पहिलो पटक टेस्ट खेल्ने देशसँग सिरिज खेल्न लागेको छ ।
३- काठमाडौंको गोंगबुस्थित टाउन प्लानिङमा रहेको विनोद श्रेष्ठको घरमा करोडौँ रकम र ३ किलोभन्दा बढी सुन फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार श्रेष्ठको घरबाट करिब ३ करोड ७५ लाख नगद भेटिएको छ । त्यस्तै उनको घरमा करिब ३ किलो जति सुनका गहना पनि भेटिएको छ । प्रहरीले विशेष सुराकीको आधारमा गोरखा नगरपालिका-१ घर भई हाल काठमाडौं-२६ बस्ने ७६ वर्षीय विनोद श्रेष्ठको घरमा छापा मार्दा सो रकम र सुन भेटिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार श्रेष्ठले सुन धितो राखेर पैसा दिने काम गर्ने गरेको खुलेको छ ।
४- एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको खेल तालिका सार्बजनिक गरिएको छ । भदौ २० गतेदेखि २८ गतेसम्म संचालन हुने भलिबल लिगमा मधेश युनाईटेड, ललितपुर क्विन्स, काठमाडौं स्पाईकर्स, पोखरा निन्जाज, कर्णाली यशविस र लुम्बिनी लाभा गरि ६ फ्रेन्चाइजीले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको उद्घाटन खेल भदौ २० गते शुक्रबार कर्णाली यशविस र पोखरा निन्जाजबीच हुने भएको छ । त्यस्तै प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुने आयोजकले जानकारी दिएको छ । गतबर्ष भएको एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करण कर्णाली यशविसले जितेको थियो । कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गरेर पहिलो उपाधि जितेको थियो ।
५- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही- ३ मा हुने उपनिर्वाचनका आन्तरिक प्रारम्भिक निर्वाचन मार्फत उम्मेदवार छान्ने भएको छ । मंगलबार बसेको राप्रपाको संसदीय समितिको बैठकले उपनिर्वाचनको उम्मेदवार आन्तरिक प्रारम्भिक निर्वाचन मार्फत छान्ने निर्णय गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । बैठकले रुपन्देही-३ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका सन्दर्भमा राप्रपा नवीन कार्ययोजनाको मोडल अनुसार यसपटक पार्टीले नवीन अभ्यासको रुपमा प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने निर्णय गरेको श्रेष्ठले बताए ।
६- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभागप्रमुख राजेन्द्र गौतमका अनुसार एमालेको सचिवालय बैठक भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो । बैठकमा भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनबारे छलफल हुने एजेण्डा रहेको छ । बैठकमा विधान अधिवेसनमा पेश हुने अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । यी प्रतिवेदनलाई सचिवालयले पारित गरेर विधान महाधिवेशनमा पेश गरिने बताइएको छ । हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार फर्किने कार्यसूची रहेको छ । यस अघि विधान अधिवेसन बारे छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाइएको भएपनि अध्यक्ष ओलीको चीन भ्रमणका कारण समय अभाव भएपछि स्थगित गरिएको थियो ।
७- निर्वाचन आयोगले कार्तिक १७ गते हुने मनाङको प्रदेश सभा सदस्यको उपनिर्वाचनको निर्वाचन तालिका सार्बजनिक गरेको छ । आयोगले मनाङको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा भदौ १९ देखि २५ सम्म दल दर्ताको आव्हान गरिसकेको छ । आयोगले उपनिर्वाचनको उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने तालिका रहेको छ । त्यस्तै उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले जानकारी दिएको छ । त्यसपछि असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ । निर्वाचन कार्यक्रम अनुसार आगामी कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जानएको छ । त्यस्तै आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको समेत जानकारी गराएको छ ।
८- प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्टपति हान चङबीच आज बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको थियो । भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।
९- शनिबार रातिदेखि अवरुद्ध रहेको कालिकोटको गगने खोलाको पहिरो हटाएर सडक सुचारु भएको छ । सडक डिभिजन कार्यलय जुम्लाका अनुसार मंगलबार दिउसोबाट सडक सुचारु भएको हो । सडकमा ठुलो ढुंगा खसेका कारण हटाउन समय लागेको थियो । सडक अवरुद्ध हुदा करोडौंको स्याउ बोकेका ट्रकसमेत रोकिन पुग्दा स्याउ कुहिनसक्ने चिन्ता बढेको थियो । सडक डिभिजनले जिल्ला प्रशासन कार्यालय कालिकोट, नेपाली सेना, नेपाल प्रहरीलगायतको सहयोगमा सडक सुचारु भएको जानकारी दिएको छ ।
१०- दोलखाको लापीलांग केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउसो ३: १३ बजे दोलखाको लापीलांग केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
११- सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएकोसम्बन्धी रिट पूर्ण इजलासमा पठाएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले मुद्दामा विपक्षीको लिखित जवाफ पेस भएलगत्तै अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको हो । हालसम्म लिखित जवाफ दर्ता नभएको र मुद्दामा अन्तरिम आदेश जारी गर्नुभन्दा अन्तिम किनारा गर्नुपर्ने देखिएको उल्लेख गर्दै सर्वोच्चले फैसलाको सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको हो । यसअघि सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको थियो । दोस्रो सुनुवाइमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले तीन वटा फाइल मगाउँदै मंगलबारका लागि पेसी तोकेको थियो । इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनः समर्थन गरेको पत्र झिकाउन आदेश गरेको थियो । यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको थियो । यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले चार प्रश्न उठाउँदै लिखित जवाफ मागेको थियो ।
१२- अफगानिस्तानमा आइतबार राति आएको ६ रेक्टर स्केलको भूकम्पबाट मृत्यु हुनेको संख्या १४ सय नाघेको छ । अफगानिस्तान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अहिलेसम्म १४११ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मुजाहिदका अनुसार भूकम्पको असर कुनार प्रान्तको नुरगल, सोका, जबा दरह, बिश दरह, ताबोर र असदाबाद क्षेत्रमा धेरै रहेको छ । भूकम्पबाट अहिलेसम्म ३ हजार १२४ जना घाइते भएका छन् भने ५ हजार ४१२ घर भत्किएको उनले जानकारी दिएका छन् । भूकम्पपछि अफगानिस्तानको तालिबान सरकारले विश्वभरबाट सहयोग मागेको छ । रोयटर्ससँग कुरा गर्दै तालिबान स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले भने- 'हामीलाई सहयोग चाहिन्छ । भूकम्पका कारण धेरै मानिसहरूले ज्यान गुमाएका छन्, धेरै घरहरू ध्वस्त भएका छन् । यो विनाशले अफगानिस्तानको समस्यालाई अझ बढाएको छ । यहाँ पहिले नै विदेशी सहायता उपलब्ध छैन, जसका कारण देशमा आर्थिक संकट झन् बढेको छ ।'
१३- आज नेप्सेमा गिरावट आएको छ । आज मंगलबार नेप्से १९.८९ अंकले घटेर २७४१.९७ विन्दुमा पुगेर रोकिएको छ । आज ३२३ कम्पनिका एक करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।
१४- अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गरेको हो । कानुनका विद्यार्थी आयुष दाहालले दायर गरेको रिटमा श्रेष्ठले सामाजिक सञ्जालमा लेखेको पोष्टले अदालतको अवहेलना भएको दाबि गरिएको छ । श्रेष्ठले भनसुन र घुस बिना अदालतबाट न्याय नपाउने भनी सामाजिक सञ्जालमार्फत् अदालतप्रति अनास्था फैलाउने खालको सामग्री पोस्ट गरेको निवेदकको दावी छ । माओवादी नेता श्रेष्ठले अहिले न्यायालयको स्थिति यस्तो छ कि न्यायका लागि अदालत पुग्ने कुनै पनि नेपालीले आफ्नो सम्पर्क पहुँचद्वारा न्यायाधीशलाई भन्न,भनाउन वा भनसुन गर्न सक्दैन भने वा घुस खुवाउन सक्दैन भने न्याय पाउला भनेर आशा गर्न सकिने स्थिति छैन भनेर लेखेका थिए ।
१५- रुपन्देही- ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीले धनीराम चौधरीलाई उम्मेदवार बनाउने भएको छ । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं पूर्व जिल्ला इन्चार्ज रहेका चौधरी केही दिनअघि नाउपा छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेशसँगै जनमतले चौधरीलाई उम्मेदवार बनाएको हो । चौधरीले यस अघि ०७९ को निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा होमिदा १३ हजार ९६२ मत प्राप्त गरी चौथो स्थानमा रहेका थिए । रुपन्देहीको थारु समुदायमा चौधरीको विशेष पकड रहेको मानिन्छ ।
१६- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ । अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा सुधार गरेको बताए । उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताए ।
१७- चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ । यो भेट बुधबार चीनमा हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडको एक दिन अघि भएको थियो । पुटिनले दुई देशबीचको सम्बन्धलाई 'अभूतपूर्व स्तर' मा रहेको वर्णन गरेका छन् । उनले भने- 'हाम्रो नजिकको अन्तरक्रियाले रूस र चीनबीचको रणनीतिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।' सीलाई सम्बोधन गर्दै पुटिनले भने- 'प्रिय मित्र, म र सम्पूर्ण रूसी प्रतिनिधिमण्डल हाम्रा चिनियाँ साथीहरू र सहकर्मीहरूलाई फेरि एक पटक भेट्न पाउँदा धेरै खुसी छौं । हामी त्यतिबेला पनि सँगै थियौं र अहिले पनि सँगै छौं ।' साथै, सो अवसरमा सी जिनपिङले भने- 'चीन-रूस सम्बन्धले अन्तर्राष्ट्रिय परिवर्तनहरूको परीक्षामा उत्रिएको छ । अझ न्यायपूर्ण र निष्पक्ष विश्वव्यापी शासन प्रणाली सिर्जना गर्न रूससँग काम गर्न चाहन्छ ।' बुधबार, सी जिनपिङले चीनको अहिलेसम्मको सबैभन्दा ठूलो सैन्य परेड आयोजना गर्नेछन् । यो कार्यक्रम दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनमा आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिनेछ ।
१८- दार्चुलाको नौगाड गाउँपालिका–५ सौकेबगरस्थित भित्री सडकखण्डमा भाद्र १६ गते दिउँसो भएको अटो दुर्घटनामा परि वेपत्ता भएका यात्रुहरु मध्ये दुई जनाको शव फेला परेको छ । होपरीगाडबाट मसिनेबगरतर्फ जाँदै गरेको म १ ह ११४८ नम्बरको अटो गति अनियन्त्रित भई सडकबाट करीब ५० फिट तल नौगाड खोलामा खसेको थियो । अटोमा सवार ५ मध्ये सोही ठाउँ बस्ने १२ बर्षिया आरुषा धामीको शव घटना स्थलबाट करिव ७ मिटर पश्चिम र १७ बर्षिया भागा धामीको शव करिव ७ किलो मिटर पश्चिम बाट सशस्त्र प्रहरी बल, नेपाल चमेलीया जलविद्युत सुरक्षा वेश बलाँच, नेपाल प्रहरी, जलविद्युतका कर्मचारी र स्थानिय बासिन्दाहरुले खोजीकार्य गर्ने क्रममा फेला पारेको छ । वेपत्ता ४७ बर्षिया चाखुरी देवी धामीको खोजीकार्य भईरहेको छ भने अटो चालकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
१९- नेपाली बजारमा आज सुनको मुल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ६ सयले बढेर तोलाको २ लाख ५ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको मुल्य तोलाको २ लाख ५ हजार ३ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २४८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २४७० मा कारोबार भएको थियो ।
२०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही-३ मा उम्मेदवारमा छनौट भएका डा. लेखजंग थापाले आफ्नो दुई विवाह भएको र पहिलो विवाहमा सम्बन्ध विच्छेद भएको स्पष्ट गरेका छन् । रुपन्देही-३ को उम्मेदवार छनौट भएपछि थापाले बहुविवाह गरेको र पार्टीको बैठकमा क्यामरा भएको चश्माको प्रयोग गरेर पार्टीको गोपनियतामा खलल पुर्याएको आरोप लगाइएको थियो । थापाले आफ्नी पुर्व श्रीमतीसँग २०७९ को मागमा सम्बन्ध बिच्छेद भएको अदालतको आदेश समेत सार्बजनिक गरेका छन् । उनले आफुले आफ्नो निजी जीवन बारे पार्टीलाई जानकारी गराएको र पार्टीले यसको कानुनी पाटोमा परामर्श गरेरै आफुलाई उम्मेदवार छानेको आफुले बुझेको बताएका छन् ।
प्रतिक्रिया