नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धित कामलाई अर्थमन्त्री जनार्दन शर्माले बुझ्न नसकेको टिप्पणी गर्नुभएको छ ।
आज बिहीवार प्रतिनिधि सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेकाे आउँदाे आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै सांसद पोखरेलले यस्ताे बताउनुभएकाे हाे । स्वास्थ्य बीमा सरकारले सामाजिक उत्तरदायित्वसँग गाँसेर ल्याएको र निजी क्षेत्रले ल्याएको बीमा जस्तो नभएकोले कम्पनीलाई दिन नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमा कम्पनीलाई दिने कुरामा मेराे समर्थन छैन । म याे निर्णयलाई पुनरावलोकन गर्न आग्रह गर्दछु । यो नाफा र नोक्सानकाे कोणबाट आएको होइन । यो सामाजिक उत्तरदायित्वसँग गाँसिएको कुरा हो । यसको लाइन स्वास्थ्य मन्त्रालय नै हो । यसलाई अर्थतिर लैजान खोजिएको जस्तो बुझिएको छ । यसमा म समर्थन गर्न सक्दिनँ । स्वास्थ्यको बजेट अहिलेकाे आवश्यकताअनुसार पुगेको छैन । बजेट छुट्याउँदा पालिका र प्रदेशलाई ध्यान दिएर काम गरौँ ।’
सांसद पोखरेलले त्रिभुवन विश्वविद्यालयलाई 'सेन्टर फर एक्सिलेन्स' को रूपमा अघि बढाउने कुरा सकारात्मक रहेको बताउनुभयो । उहाँले सबै विश्वविद्यालयहरूको पुनर्संरचना गर्नुपर्ने र साझा सूचीमा परेका विश्वविद्यालयहरूलाई प्रदेश र सङ्घले कुन–कुन हेर्ने भन्ने कुरा छुट्याउन आवश्यक रहेको पनि बताउनुभयो ।
सांसद पाेखरेलले बजेटले सार्वजनिक शिक्षाको सबलीकरणको मुद्दालाई व्यावहारिक ढङ्गले अगुवाइ गर्न नसकेको उल्लेख गर्नुभयाे ।
प्रतिक्रिया