×

क्रान्तिको विगुल फुक्ने स्व कोइरालाको प्रतीक सञ्चारग्राम : सञ्चारमन्त्री कार्की

images

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नवनिर्मित सञ्चारग्राम क्रान्तिको विगुल फुक्ने स्व तारणीप्रसाद कोइरालाको प्रतीक भएको बताउनुभएको छ ।

मोरङको विराटनगर महानगरपालिका–४ स्थित नवनिर्मित ‘तारणीप्रसाद कोइराला सञ्चारग्राम’को आज समुद्घाटन गर्दै उहाँले सञ्चारग्रामले स्वर्गीय कोइरालाको योगदान कदर भएको बताउनुभयो । सञ्चार भावना मात्र नभएर अध्ययन, अनुसन्धानको संगम भएको मन्त्री कार्कीले उल्लेख गर्नुभयो । 

उहाँले स्थापित सञ्चारग्रामबाट रचनात्मक र सिर्जनाको प्रयोग गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै ग्रामले स्थानीय साहित्य, कला र सङ्गीतलाई उजागर गर्न मद्दत गर्ने बताउनुभयो । उहाँले तालिम, अन्तरक्रिया, प्राज्ञ र बौद्धिक छलफल एवं बहस गर्ने थलोको रूपमा सञ्चारग्राम निकै उपयोगी हुने उल्लेख गर्दै सरकारले सातवटै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने उद्देश्य राखेको जानकारी दिनुभयो ।

रेडियो नेपाल सङ्घीय सरकारको दायित्वमा मात्र नभएर स्थानीय र प्रदेश सरकारको पनि भूमिका रहने बताउँदै मन्त्री कार्कीले सञ्चारग्रामको गरिमा र औचित्यलाई महत्व दिएर प्रदेश सरकारले पनि योगदान दिनुपर्नेमा जोड दिनुभयो । सञ्चारग्रामको नीतिगत सञ्चालनमा सङ्घीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रहने बताउँदै उहाँले भन्नुभयो, “जुन उद्देश्य र सोचले यो स्थापना भएको हो, यसमा सफलता मिलोस् ।” मन्त्री कार्कीले स्व कोइरालाको बारेमा उहाँकी बहिनी शान्ता घिमिरेले वाचन गरेका सबै विषयवस्तु रेकर्डमा राख्न निर्देशन दिनुभयो ।

उहाँले भोजपुरमा रेडियो स्थापना गर्नका लागि योगदान दिने भक्तबहादुर कार्कीका अभिलेख रेकर्डमा सम्बन्धित निकायलाई निर्दशन दिँदै सरकार स्थानीय निर्वाचन भयरहित, स्वतन्त्र र स्वच्छ वातावरणमा सम्पत्र गर्ने बताउनुभयो । मन्त्री कार्कीले आगामी १० वर्षमा नेपाललाई सम्पत्र राष्ट्र बनाउने विश्वास व्यक्त गर्दै राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा पनि परिवर्तन आउनुपर्ने धारणा राख्नुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निजी हितभन्दा पनि साझा र राष्ट्रका हितमा योगदान दिने मानिसको सरकारले कदर गर्ने बताउनुभयो । उहाँले लोकतन्त्र अझ सुदृढ भई नसेकाले लोकतन्त्र सुदृढीकरणका लागि लोकतन्त्रवादीहरू एक भएर जानुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले स्वर्गीय कोइरालाको नाममा स्थापना भएको यो ग्रामको संरक्षण एवं संवद्र्धनमा प्रदेश सरकारले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री एवं सांसद डा मीनेन्द्र रिजालले स्वर्गीय कोइरालाको नाममा सरकारले हुलाक टिकट छाप्नुपर्ने माग गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डिला सङ्ग्रौलाले राष्ट्रका लागि योगदान दिने सर्जकहरूलाई सम्मान गर्नुपर्ने बताउनुभयो । सांसद रमेशजङ्ग रायमाझीले प्रजातान्त्रिक आन्दोलनका योद्ध स्व कोइरालाको योगदानका बारेमा चर्चा गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय अमृत अर्याल र नेपाली कांग्रेस प्रदेश नं १ का सभापति उद्धव थापाले स्थापित सञ्चारग्राम सञ्चालनमा कुनै पनि बाधा आउन नहुने बाचा गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि सचिव डा वैकुण्ठ अर्यालले सञ्चारग्राममा हुनुपर्ने सबै विषय समेटिएको जानकारी दिँदै यस ग्रामबाट प्रसारित हुने सूचना, सङ्गीत र मनोरञ्जनका सबै क्रियाकलाप जनतामाझ समयमै पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

रेडियो प्रसार सेवा विकास समितिका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले प्रदेशस्तरका सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि, तालिम सञ्चालन र सङ्गीत प्रशिक्षणका निम्ति यो ग्राम निकै उपयोगी भएको बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वर्गीय कोइरालाका बहिनी शान्ता घिमिरेले पनि रेडियो नेपालका जन्मदाता स्व कोइरालाको विविध पक्षका बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा सञ्चारग्राममा स्थापना भएको दुई किलोवाट र १०३ मेघाहर्जका महानगर एफएमको विराटनगर महानगरपालिका प्रमुख पराजुलीले शुभारम्भ गर्नुभयो । विराटनगर महानगरपालिका–४ स्थित खारजीमा नवनिर्मित सञ्चारग्राम भवनका लागि महानगरले छ कठ्ठा १८ धुर जग्गा प्रदान गरेको छ भने ग्राम कूल रु २० करोड ७३ लाख ९३ हजार लागतमा निर्माण भएको इन्जिनियर अर्जुन थापाले बताउनुभयो ।

चार तले सो भवन स्टील स्ट्रक्चरमा छ भने भवनको एक तले पाँच हजार २०० वर्गफिटको छ । भवनमा तालिम हल, प्रशासनिक कक्ष, स्टुडियो, सभाहल, ई–पुस्तकालय, स्टुडियोजस्ता कक्षहरू छन् ।

शनिबार १९ चैत २०७८ १०:१० AM मा प्रकाशित

प्रतिक्रिया