×

भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा

images


चितवन, १५ कात्तिक : भरतपुर अस्पतालमा १२ विभागमा अतिविशिष्टिकृत सेवा दिन थालिएको छ । अठार जना डिएम, एमसिएच र फेलोसिप गरेका विशेषज्ञ चिकित्सकले यो सेवा दिँदै आएका छन् ।
 
    अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजेपछि उनीहरुले अस्पतालभित्रै रू पाँच सय टिकट लिएर अतिविशिष्टिकृत सेवा दिने गरेका छन् । यो सेवा सञ्चालनमा आएसँगै थप बिरामी लाभान्वित हुने गरेका उहाँको भनाइ थियो ।

    “एमडि गरेपछि डिएम र एमसिएच गर्न तीन वर्ष थप अध्ययन गर्नुपर्दछ भने फेलोसिपका लागि कम्तीमा एकवर्ष थप अध्ययन गरेको हुनुपर्दछ । अस्पतालमा दिउँसो १२ बजेसम्म तीन चिकित्सकले बहिरङ्ग सेवा (ओपिडि) मा बिरामी हेर्ने गर्दछन्”, पौडेलले भन्नुभयो, “१ बजेपछि अति विशिष्टि सेवा सुरु हुन्छ ।” उहाँका अनुसार जनरल बहिरङग सेवामा एक जना चिकित्सकले एक दिनमा ४० जना बिरामी हेर्ने गर्दछन् । 

    पालो नपाएकाहरुले अतिरिक्त रू पाँच सय शुल्क तिरेर ती चिकित्सकसँग सेवा लिनसक्ने पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अतिविशिष्ट सेवा पेइङ्(पैसा तिरेर लिने सेवा)मा लिँदै गर्दा पनि बिरामीले अन्य सुविधा सरकारी अस्पतालकै पाउने भएकाले न्यून खर्चमा उपचार लिन सकिन्छ ।”
 
    अतिविशिष्ट सेवा दिने चिकित्सकलाई महिनामा एक/दुई पटक बोलाएर निजी क्लिनिकमा सेवा दिने गरिएकामा सरकारी अस्पतालमा नै यो सेवा पाएसँगै बिरामी थप लाभान्वित भएका छन् । अस्पतालमा मुटुरोगका चार, न्यूरो सर्जन एक, न्यूरो मेडिसिन एक, मिर्गाैला दुई, कलेजो एक, पेटसम्बन्धी एक र मूत्ररोगसम्बन्धी एक जना अति विशिष्ट सेवा दिने चिकित्सक छन् ।
 
    हर्मनरोग एक, स्पाईनल सर्जरी दुई, जोर्नी प्रत्यारोपण एक, दुर्विनबाट जोर्नीको शल्यक्रिया गर्ने दुई जना र नवजात शिशुसम्बन्धी एक जना अति विशिष्ट सेवा दिने चिकित्सक रहेका पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार १८ अति विशिष्ट सहित ९६ जना विशेषज्ञ चिकित्सक र एक सय दुई मेडिकल अफिसर अस्पतालमा कार्यरत छन् भने नर्सको सङ्ख्या सात सयको हाराहारी छ ।

    हाल अस्पतालमा एक हजार ६१ चिकित्सक तथा कर्मचारी कार्यरत छन् । तीमध्ये नेपाल सरकारका तीन सय ९८ चिकित्सक तथा कर्मचारी छन् । बाँकी अस्पताल विकास समितिका कर्मचारी हुन् । अस्पतालमा छ सय शय्या सञ्चालनमा छन् । 
 

बुधबार १५ कात्तिक २०८० ०४:०३ PM मा प्रकाशित

प्रतिक्रिया