×

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा, आजदेखि थुनछेक बहस

images

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । सन्दीपविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यायका अनुसार आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुनेछ । सम्भवतः बुधबार साँझसम्म अदालतको फैसला आउने छ । क्रिकेटर लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका उनको पेसी मंगलबार घिमिरेको इजलासमा परेको हो। उक्त इजलासले सन्दीपको बयान लिइरहेको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए। आजै थुनछेक बहस पनि हुने उनले बताए।

 सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो। प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो। तर तिहार बिदा सुरू हुँदा अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको छ । प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेका गर्दै आफू निर्दोष रहेको आफूले बलात्कार नगरेको बयान दिएका छन्।

गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर सन्दीपले १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । पीडितको पक्षबाट भदौ २१ गते गौशाला प्रहरीमा उजुरी परेको थियो । उजुरी पर्दा सन्दीप क्यारेबियन लिग खेल्न वेष्टइन्डिजमा थिए । उतैबाट अमेरिका पुगेका उनी २० असोजमा नेपाल फर्किएका थिए । सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो ।

मङ्गलबार १५ कात्तिक २०७९ १२:१५ PM मा प्रकाशित

प्रतिक्रिया