×

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण

images

बाढीपहिरोले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सुरुङमा पानी पठाएर परीक्षण सुरु भएको छ । सफाइ अन्तिम चरणमा पुगेसँगै परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाले जनाएको छ । 

खानेपानीमन्त्री उमाकान्त चौधरीले बिहीबार मेलम्चीको मुख्य प्रवेशमा क्षमापूजा गरेपछि परीक्षणका लागि पानी पठाइएको हो । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर माधवप्रसाद न्यौपानेले आयोजनाको मुख्य ढोका खोलिएको र सफाइको काम अन्तिम चरणमा पुगेकाले परीक्षणका लागि पानी पठाउन थालिएको जानकारी दिए ।

न्यौपानेका अनुसार मुख्य ढोकाबाट परीक्षणका लागि पठाएको पानी नौ नम्बर हेडवक्र्स र अम्बाथानतर्फको १७ नम्बर ढोकाबाट बाहिर पठाइको छ । गत असार १ र साउन १७ गते आएको बाढीले आयोजनाका प्रमुखद्वार बफर ड्यामदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ गेग्य्रानसहितको लेदोले पुरेको थियो ।

बाढीले आयोजनाका मुख्य ढोका क्षतिग्रस्त बनाएको थियो भने बाहिरी भागसमेत पुरेका कारण आयोजना पूर्ण रूपमा बन्द भएको थियो । क्षतिग्रस्त ढोकाहरू खुला गरी सुरुङभित्र जमेको लेदो परीक्षणका क्रममा पठाएको पानीबाटै सफाइ गरिने आयोजनाले जनाएको छ । यो समाचारगोरखापत्र दैनिकमा छ ।

बिहीबार १७ चैत २०७८ १०:५१ AM मा प्रकाशित

प्रतिक्रिया