×

नाउपा केन्द्रीय समिति बैठक- रेशम चौधरीले नेताहरुलाई दिए ज्यान मार्ने धम्की

images

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय समिति बैठकमा विवाद भएको छ। सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संस्थापक केन्द्रीय समितिको बैठकमा पार्टीका अध्‍यक्ष रञ्जिता चौधरी पक्षका नेताहरूलाई रेशम चौधरीले ज्यान मार्ने धम्की दिएका नाउपाका नेता रमेश बिकले बताए । 

नाउपाको केन्द्रीय समिति बैठक काठमाडौंको अनामनगरस्थित कार्यालयमा बसेको छ। उक्त बैठकमा संस्थापक केन्द्रीय सदस्य तथा टीकापुरका मेयर रामलाल डगौरा थारू र केन्द्रीय सदस्य रमेश विकबीच धकेलाधकेल भएको हो। उनीहरू संस्थापक अध्यक्ष रञ्जिता चौधरीनिकट हुन्। अध्यक्ष  श्रेष्ठ पक्षका एक नेताले भने, ‘रेशमजी र उहाँका बुवाले अध्यक्ष रञ्जितामाथि आरोप लगाउन थालेपछि भनाभनको स्थिति उत्पन्न भएको थियो, त्यसपछि दीप तामाङ र राजन गुरुङले झम्टिएर  विक र  डगौरामाथि हातपात गर्नुभयो ।’ बैठकमा सुदूरपश्चिम सरकारबाट बाहिरिने लगायतका विषयमा छलफल भएको थियो । केन्द्रीय सदस्यहरुले बैठकमा धारणा राखिरहेका थिए । त्यतिबेलै रेशम चौधरीले सदूरपश्चिममा अहिलेको सरकार ढलेमा ज्यान मार्ने धम्की दिएका हुन् ।

‘हामीले धारणा राख्‍ने क्रममा विवाद भयो । रेशम चौधरीज्‍यूले धम्कीपूर्ण भाषामा सुदूरपश्चिममा कमल शाहको सरकार टिकेन भने तिमीहरूको हत्या हुन सक्छ भनेर तर्साउनुभयो’, उनले भने ।  संघमा नेकपा (एमाले), माओवादी केन्द्र सहितको गठबन्धनलाई समर्थन गरेको नाउपाले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा छ।  नाउपा संस्थापक अध्यक्ष चौधरीले सुदूरपश्चिम सरकारबाट फिर्ता हुन त्यहाँको संसदीय दललाई निर्देशन दिइसकेकी छन्। पार्टीका संरक्षक रेशम चौधरीले भने सुदूरपश्चिममा कांग्रेसलाई समर्थन गरेर जानुपर्ने धारणा राख्दै आएका छन्। 

नाउपाका संरक्षक रेशम चौधरीले कसैको उक्साहटमा पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले गतिविधि गरिरहेको आरोप लगाएपछि विवाद सुरु भएको थियो । चौधरीको उक्त भनाइलाई उनको बुवा लालवीर चौधरीले पनि दिएका थिए ।

टिकापुरको जनता र पार्टीले लिएको नीति विपरीत श्रेष्ठले कसैको लहैलहैमा आएर पार्टीभित्र गलत गतिविधि गरेको आरोप लगाएपछि श्रेष्ठ आक्रोशित बन्न पुगेकी थिइन् । अध्यक्ष श्रेष्ठ आक्रोशित भएपछि त्यहाँ भनाभनको अवस्था निम्तिनुका साथै हात हालाहाल समेतको स्थिति आएको ती नेताको भनाइ छ । 

सोमबार १९ चैत २०८० ०२:५० PM मा प्रकाशित

प्रतिक्रिया