×

जनताको तटबन्धः महाकालीमा मर्मत, मोहना र खुटियामा नयाँ बन्दै

images

महेन्द्रनगर (कञ्चनपुर), १८ माघ : डेढ दशकअघि नदीनाला नियन्त्रण तथा तटबन्ध निर्माणलगायत क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरिएको जनताको तटबन्ध कार्यालयले यहाँका विभिन्न नदीमा तटबन्ध मर्मत तथा नयाँ निर्माणलाई तीव्र गतिमा अघि बढाएको छ ।

महेन्द्रनगरस्थित जनताको तटबन्ध फिल्ड कार्यालयले कञ्चनपुरको महाकाली नदीको तटबन्ध मर्मत एवं केही स्थानमा बस्ती जोगाउन तटबन्ध निर्माण गरिरहेको जनाएको छ । जनताको तटबन्ध कार्यालयका प्रमुख श्रीप्रसाद शाहले महाकाली नदीको झोलु्गे पुलदेखि दक्षिण कुतियाकवरसम्मको महाकालीको तटबन्ध मर्मत र कुतियाकवरमा दुई सय मिटर तटबन्ध निर्माण भइरहेको जानकारी दिनुभयो ।

“दोधारा–चादँनी झोलुङ्गे पुलतलमा मर्मतको काम चलिरहेको छ ।” प्रमुख शाहले भन्नुभयो–“कुतियाकवरमा पनि दुई सय मिटर नयाँ तटबन्ध निर्माण भइरहेको छ । कुतियाकवर सीमा बस्ती जोगाउन र महाकालीको तटबन्ध मर्मतका लागि गतवर्ष रु १६ करोड ८५ लाखमा ठेक्का लगाइएको हो । त्यसैगरी तटबन्ध कार्यालयले कञ्चनपुर र कैलालीको सीमा छुट्याउने मोहना नदीमा पनि तटबन्ध निर्माण  थालिएको छ । 

मोहना र कैलालीको खुटियामा नदी नियन्त्रणका निम्ति  ठेक्का दिएको करिब दुई वर्षसम्म भने निर्माण कम्पनीको लापरबाहीका कारण पाँच प्रतिशत पनि भौतिक प्रगति भएको थिएन । यहाँ मोहना र खटियाको गरी १०.२५ किलोमिटर तटबन्ध निर्माण तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको  छ ।

उक्त तटबन्ध निर्माणको काम टिम्स–राजेन्द्र–कुमार जेभीले रु ५२ करोडमा गर्ने सम्झौता गरेको थियो । निर्माण कम्पनीले रु सात करोड भुक्तानी लिएको प्रमुख शाहले बताउनुभयो ।“दातृ निकाय एशियाली विकास बैंक (एडिबी) ले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने तयारी गरेपछि कम्पनीले काम द्रुत गतिमा अघि बढाएको  हो । अहिले ५० प्रतिशतभन्दा बढी काम पूरा भएको छ ।”
 

बिहीबार १८ माघ २०८० ०८:५८ PM मा प्रकाशित

प्रतिक्रिया