×

काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन कानुन विपरीत- उच्च अदालत पाटन

images

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन कानुन विपरीत भएको ठहर गरेको छ साथै उच्च अदालतले हात्तिसार क्षेत्रमा पर्ने टुकुचा उत्खनन गर्न डोजर चलाउने  महानगरको अभियान रोक्न अन्तरिम आदेश दिएको छ।  

बुधबार न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गैरकानुनी भन्दै यस्तो   फैसला गरेको हो ।

हात्तिसार क्षेत्रका २१ घरधनीले महानगरले आफ्नो घरजग्गामा डोजर चलाउन थालेपछि त्यसलाई रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दिएका थिए।

काठमाडौं महानगरपालिकाले १३० वर्षअघि भूमिगत गरिएको टुकुचा खोला उत्खनन गर्न सुरु गरेको थियो । उसले जय नेपाल फिल्म हललगायत विभिन्न व्यक्ति तथा संस्थाको स्वामित्वमा रहेको जग्गा खनेर टुकुचा खोलालाई सतहमा फर्काउन खोजेको थियो ।

आफूहरूले किनेर भोगचलन गरेकोमात्र होइन महानगरबाटै भवन निर्माणको इजाजत लिएर घर बनाएको, महानगरलाई तिरो तिरेको लगायत तथ्य देखाउँदै आफ्ना घरजग्गा सार्वजनिक नभइ निजी रहेको जिकिर गरेका थिए।

हात्तिसारका स्थानीयले आफ्नो निजी सम्पत्तिमा महानगरले कानुनी रित प्रकृया नपुर्‍याइ डोजर चलाएको भन्दै रिट दायर गरेका थिए भने पुरातत्व विभागले पनि त्यो क्षेत्रमा अध्ययन गरेको थियो।

रिट निवेदकको कानुन व्यवसायी रहेका अधिवक्ता अमृत सापकोटाका अनुसार अब काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खनन गर्न पाउने छैन ।

बुधबार १८ माघ २०७९ ०८:४९ PM मा प्रकाशित

प्रतिक्रिया