×

दीपक मनाङे नेपाली कांग्रेसको देउवा समूहमा प्रवेश, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी

images

काठमाडौँ — गण्डकी प्रदेशका पूर्वसांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गरेलगत्तै देउवा समूहले उनलाई आसन्न १५औँ महाधिवेशनका लागि मनाङ जिल्ला अधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारी सुम्पिएको छ। 

मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच देउवा समूहद्वारा गठित महाधिवेशन आयोजक समितिका संयोजक एवं पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मनाङेलाई खादा ओढाएर औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।

लामो समयदेखि स्वतन्त्र राजनीति गर्दै पटक-पटक गण्डकी प्रदेश सरकारमा मन्त्री बनेका दीपक मनाङे पछिल्लो केही महिनादेखि नेपाली कांग्रेसको देउवा समूहसँग नजिक रहेर आन्तरिक राजनीतिमा सक्रिय थिए। 

देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशनहरू सुरु गर्ने तयारी गरिरहेका बेला मनाङेलाई भित्र्याएर सिधै जिल्लाको साङ्गठनिक कमान्ड सुम्पिएको हो। उनलाई मनाङमा कांग्रेसको अधिवेशन सफलतापूर्वक सम्पन्न गराउने मुख्य जिम्मेवारी (संयोजक) दिइएको छ।  स्रोतका अनुसार कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा विदेशबाट स्वदेश फर्किएकै दिन मनाङे उनलाई भेट्न चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका थिए र स्वागतका लागि युवाहरूको मोटरसाइकल जुलुसको व्यवस्थापन समेत उनैले गरेका थिए। 

दीपक मनाङे २०७४ र २०७९ को प्रदेश सभा निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवारका रूपमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। गण्डकी प्रदेशको सत्ता समीकरण बदलिने हरेक खेलमा निर्णायक भूमिका खेल्दै आएका उनी खेलकुद तथा भौतिक पूर्वाधार मन्त्री समेत बनेका थिए। 

यद्यपि, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानाे मुद्दामा सर्वोच्च अदालतले सजाय सदर गरेपछि उनी प्राविधिक र कानुनी रूपमा सांसद पदबाट मुक्त भएका थिए। सजाय भुक्तान र कानुनी प्रक्रिया पूरा गरिसकेपछि पुनः खुला राजनीतिमा आएका मनाङेको कांग्रेस प्रवेशले मनाङ जिल्लाको साङ्गठनिक राजनीतिमा नयाँ र रोचक समीकरण बनाउने राजनीतिक विश्लेषकहरूको भनाइ छ। 

विपक्षी इतर समूहले महाधिवेशनका लागि समानान्तर गतिविधि गरिरहेका बेला देउवा पक्षले मनाङे जस्तो 'मास इन्फ्लुएन्सर' (Mass Influencer) लाई जिल्ला संयोजक तोकेपछि मनाङ कांग्रेसभित्र नयाँ बहस छेडिएको छ।

मङ्गलबार १३ असोज २०८३ ०७:२७ PM मा प्रकाशित

प्रतिक्रिया