काठमाडौँ, १२ भदौ । नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको हृदयविदारक असर छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रमा पनि देखिन थालेको छ। नेपालमा आएको भीषण बाढीका क्रममा नदीमा बगेका सात वटा शवहरू तीव्र बहावका साथ बगेर भारत पुगेको अवस्थामा फेला परेका छन्।
भारतको उत्तर प्रदेशस्थित महराजगञ्जमा गण्डक (नारायणी) नदीबाट चार र कुशीनगरमा तीन जना गरी कुल ७ जनाको शव बरामद भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पाँच महिला र दुई पुरुषको शव, पहिचान गर्न सकस
भारतीय सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा नियमित निगरानी गर्ने क्रममा शवहरू बगिरहेको देखेको थियो। टोलीले तत्काल मोटरबोटको सहायताले ती शवहरूलाई नदीबाट बाहिर निकालेर पोष्टमार्टम तथा पहिचानका लागि जिल्ला सदरमुकाम पठाएको छ।
अधिकारीहरूका अनुसार फेला परेका शवहरूमध्ये पाँच जना महिला र दुई जना पुरुष रहेका छन्। लामो दूरीसम्म नदीको तीव्र बहावमा बगेर आएका कारण शवहरूको पहिचान गर्न निकै कठिनाइ भइरहेको छ।
नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा भारतीय प्रशासन
निचलौल तहसीलका उप-जिल्लाधिकारी सिद्धार्थ गुप्ता र कुशीनगरका अतिरिक्त प्रहरी उपरीक्षक सिद्धार्थ वर्माका अनुसार बरामद गरिएका शवहरू नेपालको माथिल्लो तटीय क्षेत्र (अपस्ट्रिम) बाटै बगेर आएको प्रबल सम्भावना छ। हाल ती शवहरूलाई सुरक्षित रूपमा फ्रिजरमा राखिएको छ र पहिचान प्रक्रिया अघि बढाइएको छ।
मृतकहरूको सनाखत गर्न र उनीहरूका आफन्तको खोजी कार्यका लागि भारतको एसएसबी र स्थानीय जिल्ला प्रशासनले नेपालका सम्बन्धित जिल्लाका अधिकारीहरूसँग निरन्तर समन्वय र सम्पर्क गरिरहेका छन्।
नेपालमा भोटेकोशी र त्रिशूली नदी कोरिडोरमा बस्ती तथा प्रहरी चौकीहरू नै बाढीले बगाएका कारण ठूलो संख्यामा नागरिक तथा सुरक्षाकर्मीहरू अझै बेपत्ता छन्। नदीहरूमा पानीको बहाव अझै तीव्र रहेकाले आउँदा दिनहरूमा थप शवहरू भारततर्फ बगेर आउन सक्ने आशंका गर्दै भारतीय अधिकारीहरूले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया