काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली युवा नेता रञ्जित तामाङले सरकारले आफ्नो दायित्व र कर्तव्य पूरा गर्नुपर्ने बताएका छन् । उनले अहिलेपनि देशमा भ्रष्टाचार र बेथिति व्याप्त रहेको टिप्पणी गरे ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले देशमा व्याप्त रहेका सबैखाले विकृति तथा विसंगति हटाउनको लागि आफूहरुको खबरदारीसभा फलदायी हुने दाबी गरे ।
उनले भने,‘देशमा सुशासनको प्रत्याभूति दिने काम राज्यको हो । जनताको आहतमा राहतको व्यवस्था गर्ने दायित्व राज्यको हो । त्यहाँपनि राज्य चुकेको छ । प्रचण्डको सरकारले सुशासनको अभियान चलायो । तर, अहिलेको सरकार त्यसमा चुकेको छ । प्रचण्डको पालामा जनतामा भरोसा पलाएको थियो । अहिले जनता निराशामा छन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मुद्दामा संलग्न भएको व्यापारीसँग अरबौं रुपैयाँ पर्ने जग्गा दान लिएको तर विपत्तिले आहातमा परेका जनतालाई राहत दिन उदासिन बनेको भन्दै आलोचना गरे । उनले अहिलेको सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाए । उनले भेन,‘राज्य मनपरी गर्न छाडा छोडिएको वस्तु होईन । हामी सरकारलाई सही बाटोमा हिँडाउन खबरदारी गरिरहेका छौं ।’
उनले सरकार गलत बाटोमा हिँडिरहेको कुरा आम जनताले पनि बुझेको बताए । उनले सरकारलाई भ्रष्टाचारविरुद्ध नारा बोकेर हिँड्ने योग्य प्रशासकलाई कारबाही गर्न तम्सिएको भन्दै नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन खोजिए देशले नमान्ने चेतावनी दिए । उनले कुलमानलाई उज्यालो नोपलका अभियन्ताको संज्ञा दिए ।
उनले भने,‘अहिलेको सरकार कुलमानजीलाई साथमा लिएर जानुको साटो हटाउन अनेकौं तानाबुना बुनिरहेको छ । कुलमान भ्रष्टाचारको विरोधी र सुशासनको पक्षधर हो । जनताको पक्षमा भएको मान्छे हो । सरकार त दलाललाई केन्द्रमा राख्ने रहेछ । सक्षम प्रशासकलाई गलहत्याउन खोजिरहनुभएको छ, यो कुरा सिंगो देशले मान्दैन् ।’ उनले दुई तिहाईको बहुमतमा रहेको अहिलेको सरकारले मनपरी गर्न नहुने धारणा राखे ।
वरिष्ठ अधिवक्ता रमण कर्णले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नुपर्ने बताएका छन् । घिसिङले विद्युत नदिएर विशेष सेवाको नाममा उद्योगपतिहरुलाई विशेष दर लगाउनु भनेको गलत भएको उनको दाबी छ । उनले भने,‘अहिले जारी भएको बक्यौता बास्तविक होईन । बक्यौता नै फेक हो । प्राधिकरणले नक्कली विजक जारी गरेको छ । विद्युत दिएको छैन् । गलत बक्यौताअनुसार रकम मागेकोले उद्योगपतिले पैसा तिर्नुपर्दैन् । कानूनी अवस्था पनि तिर्नुपर्ने छैन् । कुलमानको निर्णय अराजक छ ।’
उनले कुलमानलाई मन्त्रालयले विभागीय छानबिन समिति गठन गरेर जिम्मेवारीबाट अलग गराएर मन्त्रालयमा तान्नसक्ने कानूनी आधार सुनाए । उनले भने,‘कुलमानले जुन विल जारी गर्नुभएको छ, बक्यौताको विषयमा, अब मन्त्रालयले विभागीय छानबिन समिति गठन गर्नसक्छ । छानबिन नहुञ्जेलसम्म मन्त्रालयमा कुलमानलाई हाजिरी गराएर, नेपाल सरकारले अर्को व्यक्ति पठाउने निर्णय गर्नसक्छ । यो बक्यौता विवादित हो । यो विषयमा सर्वोच्च अदालतले पनि बोलिसकेको छ । कुलमानले आफूखुशी विल जारी गर्नुभएको छ । पदीय आचरणविपरित काम गर्नुभयो, त्यहाँ बस्ने कानुनी अधिकार छैन् ।’
उनले उद्योगपति तथा व्यवसायीलई चोर भनेर ब्राण्डिङ नगर्न कुलमानलाई चूनौति दिए । उनले अहिलेको घट्नाक्रम हेर्दा कुलमान बास्तवमा सुशासनको पक्षधर नभएर कुत्सित मनशाय राखेर बस्ने मान्छे भएको आरोप लगाए । उनले व्यवसायीको सार्वभौम अधिकार हुने भन्दै लोकप्रियताको नाममा तानाशाह बन्ने प्रवृत्ति र राज्यभन्दा माथि छु भन्ने व्यवहार स्विकार्य नभएको बताए ।
जनमत पार्टीका उपाध्यक्ष, पूर्वमन्त्री तथा उद्योग समितिका सभापति अब्दुल खाँनले विद्युतको बक्यौताको विषयमा रहेको विवाद सहमतिमै हल गरिनुपर्नेमा जोड दिएका छन् । विद्युतको बक्यौताको विषय विगतमा संसद्मासमेत उठेको स्मरण गर्दै अहिले सबै जिम्मेवार भएर समस्याको समाधान गर्नुपर्ने उनको मत छ । उनले उद्योगको लाईन काटेरमात्रै समस्याको समाधान नहुने स्पष्ट पारे । उनले भने,‘अहिलेको उद्योगको लाईन काटिएको विषयमा सबै पक्ष गम्भीर बन्नुपर्छ, उद्योग सञ्चालन हुँदा हजारौं व्यक्तिको रोजीरोटीसँग जोडिएको विषय हो, तर लाईन काटियो भने त्यहाँका श्रमिकको अवस्था के हुन्छ ? यसबारेमा हामी गम्भीर बन्नुपर्छ ।’
सो क्रममा उनले माओवादी केन्द्रले आज गरेको खबरदारी सभालाई सकारात्मक रुपमा लिएको र सत्ता गठबन्धनले स्वागत गर्ने बताए । उनले भने,‘आज माओवादीले खबरदारी सभा गरेको छ, हामी सत्ता गठबन्धलने यो खबरदारीलाई एकदम स्वागत गर्छौं । प्रमुख प्रतिपक्षी दलहरुले सरकारलाई जिम्मेवार बनाउनु स्वागतयोग्य कुरा हो । सरकार तानाशाह हुनुहुँदैन् । सरकारलाई बेला बेलामा प्रतिपक्षले लगाम लगाउनु राम्रो हो । नियमत राम्रो हुनुपर्छ ।’
यस्तै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ प्रकरकणमा पार्टी अध्यक्ष सिके राउतले राउतले एउटा दलको अध्यक्षको हिसाबले अभिव्यक्ति दिएको स्पष्ट पारे । उनले भने,‘राष्ट्रिय दलको अध्यक्षलाई गिरफ्तारी कुन नियतले गरियो ? भनेर लेख्नुभयो । सवल पक्ष के भने सत्ता गठबन्धनमै राउतको अभिव्यक्तिलाई लिएर बैठक बालुवाटारमा बोलाउनुभयो । नेताबीच कुरा भयो ।
सत्ता गठबन्धनबीच बैठक नहुनु, छलफल नहुनु, मतभेद भएको हो । त्यसकारण समय समयमा नेताबीच छलफल हुनुपर्छ भन्ने कुरा भयो । सत्ता गठबन्धन एकमुख हुनुपर्छ भनेर सहमति भयो । त्यही सहमतिलाई हाम्रो पार्टीले पनि स्विकार गरेको छ । अध्यक्ष राउतले पनि हस्ताक्षर गर्नुभयो । सत्ता घटकमा बसिसकेपछि सत्ता पक्षको हितमा काम गर्ने हो । सत्ताभन्दा बाहिर छैनौं । गठबन्धनभित्रै छौं । साथ र सहयोग रहन्छ ।’
उनले रास्वपाले छानबिन प्रक्रियालाई र न्यायलालाई अवरोध पार्नु गलत भएको टिप्पणी गरे ।
प्रतिक्रिया