×

सरकारविरुद्ध आङ्देम्बेको चेतावनी : ‘अब सल्लाह होइन, वार कि पार हुन्छ’

images

पाँचथर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान बालेन सरकारसँग अब ‘वार कि पार’को लडाइँ हुने चेतावनी दिएका छन् । सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै उनले अब सरकारलाई कुनै पनि प्रकारको साथ, सहयोग र सल्लाह नदिने स्पष्ट पारेका छन् ।

सोमबार गृहजिल्ला पाँचथरमा आयोजित पाँचथर बहुमुखी क्याम्पसको साधारणसभालाई सम्बोधन गर्दै नेता आङ्देम्बेले सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिएका हुन् । उनले सरकारले न्यायालय, प्रहरी र निजामती कर्मचारी प्रशासनमाथि हस्तक्षेप बढाएको गम्भीर आरोप लगाए । प्रधानमन्त्री कार्यालयलाई कर्मचारीहरूका लागि ‘यातना गृह’ बनाइएको टिप्पणी गर्दै उनले राज्यका लोकतान्त्रिक संस्थाहरूमाथि भइरहेको हस्तक्षेप अस्वीकार्य रहेको बताए ।

कार्यक्रममा बोल्दै आङ्देम्बेले भने, “यो सरकारलाई यत्तिकासम्म हेर्‍यौँ । तर, न्यायालयमाथि हस्तक्षेप बढायो । प्रधानमन्त्री कार्यालयलाई कर्मचारीका लागि यातना गृह बनाइयो, प्रहरीमाथि हस्तक्षेप बढायो । राज्यका लोकतान्त्रिक संस्थाहरूमाथि हस्तक्षेप भयो । यो गलत छ ।”

सरकारको मनपरी प्रवृत्तिविरुद्ध अब प्रतिपक्ष चुप लागेर नबस्ने उल्लेख गर्दै उनले थपे, “अब यो सरकारलाई कुनै साथ रहने छैन । कुनै सल्लाह पनि दिइने छैन । मनपरी गर्नेलाई सल्लाह दिनु कुनै अर्थ छैन । अब वार कि पार हुन्छ ।” सोही क्रममा उनले तत्काल संसद् अधिवेशन आह्वान गर्नसमेत सरकारसँग माग गरे ।

उच्च शिक्षा र सामुदायिक क्याम्पसको सुधारमा जोड

राजनीतिक विषयसँगै नेता आङ्देम्बेले शैक्षिक सुधारको आवश्यकतामाथि पनि प्रकाश पारे । उनले देशभरका सामुदायिक क्याम्पसहरूलाई आंगिक क्याम्पसमा रूपान्तरण गर्नुपर्ने माग राखे । उच्च शिक्षाको व्यवस्थापन र विकासमा प्रदेश सरकारले पनि स्वामित्व लिनुपर्ने उनको भनाइ थियो ।

उच्च शिक्षा हासिल गर्नका लागि पहाडी जिल्लाका विद्यार्थीहरू सहरतर्फ पलायन हुने क्रम बढ्दा गाउँबस्ती रित्तिँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । विद्यार्थी पलायन रोक्न सामुदायिक क्याम्पसहरूमा राज्यको लगानी बढाउनुपर्ने बताउँदै उनले स्थानीय स्तरमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउन क्याम्पसहरूलाई व्यवस्थित र सुदृढ बनाउने नीति लिनुपर्नेमा जोड दिए ।

सोमबार १ मंसिर २०८३ ०७:५३ PM मा प्रकाशित

प्रतिक्रिया