दुई छिमेकी पाकिस्तान र अफगानिस्तानबीच भीषण युद्ध भएको छ । बिहीबार राति अफगानिस्तानले पाकिस्तानमाथि हमला गरेको छ। शुक्रबार बिहान पनि अफगानिस्तानको राजधानी काबुलमा ठूला विस्फोटहरू सुनिएका छन्।
कुनार प्रान्तमा तालिवान लडाकुले गरेको आक्रमणमा पाकिस्तानी सेनाका ५५ जवान मारिएको टोलो न्यूजले तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै दिएको छ। अफगान सरकारको दाबी अनुसार २३ पाकिस्तानी सैनिकका शव उनीहरूको नियन्त्रणमा छन्। पाकिस्तानी सेनाको एउटा मुख्यालय र १९ वटा चौकी पनि कब्जा गरिएको छ।
पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मोशर्रफ जायदका अनुसार पाकिस्तानी सेनाको आक्रमणमा अहिलेसम्म १ सय ३३ अफगानी तालिबान सदस्य मारिएका र २ सय भन्दा बढी घाइते भएको दाबी गरेका बीबीसीले जनाएको छ । तर तालिबानले कुनै क्षति नभएको दाबी गरेको छ । अफगानिस्तानका उपप्रवक्ता हमदुल्लाह फितरतले केही पाकिस्तानी सैनिकलाई जिउँदै पक्राउ गरिएको तथा धेरै हतियार, एउटा ट्यांक र एउटा हार्भेस्टर जफत गरिएको बताएका छन्।
उता पाकिस्तानी मिडियाका अनुसार जबाफी कारबाहीस्वरूप पाकिस्तान सरकारले ‘अपरेसन गजब लिल हक’ सुरु गरेको छ। पाकिस्तान वायुसेनाले काबुल, नंगरहार प्रान्त लगायत विभिन्न सहरमा एयरस्ट्राइक गरेको छ। पाकिस्तान सरकारले हालसम्म ७२ अफगान तालिबान लडाकु मारिएका जनाएको छ । १२० भन्दा बढी घाइते भएका छन्। १६ तालिबान चौकी ध्वस्त पारिएको र ७ वटामा कब्जा गरिएको बताइएको छ।
पाकिस्तान–अफगानिस्तान सीमामा भएको झडपमा अफगान पक्षले पाकिस्तानका कम्तीमा आठ वटा चौकी कब्जा गरेको दाबी गरेको छ। पछिल्ला केही दिनदेखि बढ्दै गएको तनावपछि दुवै देशका सीमा सुरक्षाबीच भारी भिडन्त भएको बताइएको छ।
यो घटना दुवै देशबीचको डुरन्ड रेखा क्षेत्रमा बढ्दै गएको तनावको पछिल्लो कडी मानिएको छ, जहाँ पछिल्ला महिनाहरूमा पटकपटक गोली हानाहान र सैन्य कारबाही हुँदै आएको छ। सन २०२५ अक्टोबरमा दुई देशबीच अस्थायी शान्ति सम्झौता भए पनि पछिल्लो समय सीमा क्षेत्रमा आक्रमण चलिरहेको छ । दुवै पक्षले एकअर्कालाई पहिले आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।
प्रतिक्रिया