नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आजदेखि आफ्नो क्षेत्र सर्लाही-४ मा चुनावी प्रचार सुरू गरेका छन् । एक भिडिओ सन्देशमार्फत् थापाले काठमाडौं ४ को माया, भरोसा र शुभेच्छासहित सर्लाहीमा आएको बताएका छन् ।
‘म मधेश जाँदैछु किनकि म देश जोड्न चाहन्छु । काठमाडौंका कथाहरू मधेश लगेर सुनाउन चाहन्छु अनि मधेशका कथाहरू, पीडाहरू मधेशका व्यथालाई बुझ्दै काठमाडौं ल्याएर सुनाउन पनि चाहन्छु’, उनले भने, ‘म सबैको सम्मान रहँदै गर्दा मात्रै हामी नेपालीको सम्मान रहन्छ भन्ने कुरामा विश्वास राख्छु । म उत्तेजनाको राजनीतिमा विश्वास राख्दिन तर म अधिकार नभइकन सबैको बीचमा एकता हुन्छ भन्ने कुरामा पनि विश्वास राख्दिनँ ।’
उनले पहिलो संविधानसभा चुनावमा समानुपातिक सूचीमा रहँदादेखि ७९ सम्म काठमाडौं ४ मा निरन्तर जोडिएको सन्दर्भहरू उल्लेख गरेका छन् । आफू भर्खर पार्टीको सभापति भएको र यो पटक काठमाडौं ४ झन् सहज छ छोड्नु हुँदैन भनेर साथी र शुभेच्छुकले आग्रह गरेको थापाले बताएका छन् ।
काठमाडौंमा जन्मीहुर्की सहरको जीवन र सार्हो गार्हो बुझेको मौका पाएको भन्दै उनले राष्ट्रिय पार्टीको जिम्मेवारी निर्वाह गरिरहँदा मधेशसँगको सम्बन्ध प्रगाढ बनाउनु पर्छ तीव्र इच्छा जागेको बताएका छन् ।
‘मधेशको प्रतिनिधित्व गर्दैगर्दा त्यहाँका मुद्दाहरुलाई बुझ्दै गर्दा समाधानको लागि पहल गर्दै गर्दा मैले सिङ्गो नेपालको मुद्दाहरुलाई नै हल गर्ने कुरामा ठूलो आफ्नो भूमिका निर्वाह गर्न सक्छु भन्ने विश्वास राखेको छु’, थापाले भने ।
सिङ्गो देशको हुनका निम्ति मैले एकपटक मधेशको माटो राम्रोसँग ढोग्नुपर्छ, टेक्नुपर्छ र आशीर्वाद लिनुपर्छ भनेर सोचसहित सर्लाही ओर्लिएको उनको प्रष्टोक्ति छ ।
प्रतिक्रिया