×

काम गर्न नसके राजीनामा दिनू : मन्त्री किराती

images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन र दैनिक रिपोर्ट पेस गर्न निर्देशन दिएका छन्।

आज वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन्। निगमले गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले निकै कडा शब्दमा निगमको कार्यशैलीको आलोचना मात्रै गरेनन् काम गर्न नसके राजीनामा दिएर जान भने ।

किरातीले निगमको बिजनेस प्लान पनि मागे । ‘हरेक दिनको रिपोर्ट मन्त्रालयमा पठाउनुस्, जहाज कहाँ, कति उड्यो, कहाँ रोकियो, के कारणले रोकियो ?’ उनले भने, ‘जहाजको रिपोर्ट हरेक दिन हेर्छु, बरु म मन्त्रालयबाट १२ बजे फर्किन्छु, तर, रिपोर्ट हेरेर मात्र फर्किन्छु ।’

‘विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्व हुन्छ, तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस्’,उनले भने। मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि  निर्देशन दिए। 

‘जहाज अब उप्रान्त समयमै उड्नु पर्छ, हिजो के भयो त्यो म हेर्दिनँ, जहाज स्टार्ट भइसक्यो अब रोकिनु हुँदैन’, उनले भने, ‘नकारात्मक काम गर्दिन, सकारात्मक काममा सँधै साथ दिन्छु।’उनले आफूले आकाश झार्न नभनेको भन्दै दुनियाँभरका कम्पनी नाफामा हुँदा वायुसेवा निमग किन घाटामा चलिरहेको हो भन्ने प्रश्न गरे ।

‘म बहुलाएर यो भनेको होइन, म ठीक नै छु,’ उनले भने, ‘त्यसकारण निगम सुधार हुन्छ, म त्यो विश्वास गर्छु ।’ राम्रो काम गरे संस्कृति बन्ने भन्दै उनले आफूहरु हिँड्ने पाइला नागरिकका जीवन दर्शन हुने बताए । मन्त्री किरातीले आफ्नोमा धाएर जुत्ता फटाउने प्रयास नगर्न पनि सचेत दिए । ‘यो देश ६ सय जनाको परिधिभित्र चल्छ, तपाईंको हरेक चलखेल तत्काल थाहा हुन्छ, आजसम्म जे-जे भयो भयो, आइन्दा यस्तो नहोस्’ उनले चेतावनीको भाषामा भने ।

सोमबार ९ माघ २०७९ ०१:४५ PM मा प्रकाशित

प्रतिक्रिया