×

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पुन: पक्राउ

images

काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पुन: पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई बिहीबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो। यसअघि पनि उनी साउन ५ मा पक्राउ परेर छुटेका थिए। अग्रवाललाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरेको सीआईबीले जनाएको छ ।

बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन,२०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा सेयर बेचेको पाइएको सीआईबीले जनाएको छ । अग्रवालले सस्तोमा सेयर खरिद गर्ने गलत प्रचारप्रचार गरी मूल्य बढाइ बिक्री गर्ने गर्दै आएका थिए ।

उनी आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जाल मार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पुर्‍याउने भन्दै झुट्टा आश्वासन दिने गर्थे । सेयर लगानीकर्ताले खरिद गर्न थालेपछि भने अग्रवाल आफ्नो सेयर बिक्री गर्थे । सोही विषयमा बोर्डमा उजुरी परेपछि अध्ययन गरेको थियो । बोर्डको अध्ययनले पनि अग्रवालले झुटा कारोबार गर्ने गरेको ठहर गरेको थियो ।

सीआईबीले बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार प्रतिवादी अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरी भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा सेयर बिक्री गरी करिब ४९ लाख १९ हजार कानुन विपरस्त नाफा आर्जन गरेको अरोप लगाएको छ ।

त्यस्तै अग्रवालले आपसी खरिद–बिक्री तथा आफन्त सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको समेत सीआईबीले जनाएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएको आरोप समेत सीआईबीले लगाएको छ । सीआईबीेले धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा उनलाई पक्राउ गरेको हो ।

 

शुक्रबार​ ४ पुस २०८२ ०९:२२ PM मा प्रकाशित

प्रतिक्रिया