×

गैरहाजिरीको कीर्तिमानपछि प्रकाश देउवाको सांसद पद चट्

images

काठमाडौँ। नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा सांसद पदबाट मुक्त हुनुभएको छ। प्रदेश सभा बैठकमा पूर्वसूचना नदिई लगातार अनुपस्थित भएपछि सभामुख भीमबहादुर भण्डारीले उहाँलाई पदमुक्त गर्ने निर्णय गर्नुभएको हो।

सभामुख भण्डारीले नेपालको संविधानको धारा १८० को (घ) बमोजिम देउवालाई पदमुक्त गर्ने सम्बन्धी टिप्पणी आदेश स्वीकृत गर्नुभएको छ। संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाका कुनै सदस्य सभाको स्वीकृति नलिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा निजको पद स्वतः रिक्त हुने प्रावधान छ। देउवा विगत ११ महिनादेखि अमेरिकामा रहनुभएको र लगातार २७ वटा प्रदेश सभा बैठकमा अनुपस्थित हुनुभएको सचिवालयले जनाएको छ। 

उनी गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलगत्तै अमेरिका गएका थिए। उनले यसको जानकारी आफ्नो पार्टी, प्रदेशसभा र प्रदेश सरकार कसैलाई दिएका थिएनन्।

२०७९ को प्रदेश सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ (ख) बाट निर्वाचित देउवा यसअघि सुदूरपश्चिम प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्रीसमेत हुनुहुन्थ्यो। उहाँ नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिज हुनुहुन्छ।

प्रदेश सभा सचिवालयका अनुसार सभामुखले देउवा पदमुक्त भएको औपचारिक जानकारी सदनमा गराएपछि राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचन आयोगलाई जानकारी गराइनेछ।  

बुधबार ३ भदौ २०८३ १२:४२ PM मा प्रकाशित

प्रतिक्रिया