काठमाडौँ, कात्तिक १ । बडादसैँ मनाउन तथा विभिन्न कामले काठमाडौँ उपत्यका छाड्ने यात्रुहरूको संख्या चार लाख ९६ हजार नाघेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि (असोज २५ गते) महाअष्टमीको दिनसम्म यति ठूलो संख्यामा सर्वसाधारणहरू आफ्नो गृहजिल्लातर्फ प्रस्थान गरेका हुन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (SP) नरेशराज सुवेदीले दिएको जानकारी अनुसार हालसम्म ७८ हजारभन्दा बढी सार्वजनिक सवारीसाधनले उपत्यका छाडेका छन् भने सार्वजनिक यातायात मार्फत मात्रै ४ लाख ९६ हजार ३२३ जना यात्रु बाहिरिएका छन्। निजी सवारीसाधन (कार, मोटरसाइकल आदि) मार्फत उपत्यका छाड्नेहरूको आधिकारिक तथ्यांक भने यसमा समावेश गरिएको छैन।
महाअष्टमीका दिन नागढुङ्गासहितका नाकामा चाप उच्च
ट्राफिक प्रहरीका अनुसार विशेष गरी महाअष्टमीका दिन घर फर्कने यात्रुहरूको चाप निकै बढी देखिएको थियो। अष्टमीको दिन बिहानको समयमा उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरू नागढुङ्गा, कलङ्की, कोटेश्वर, जगाती, फर्पिङ र बल्खुमा सवारीसाधनको चाप उच्च रहे पनि दिउँसोदेखि भने क्रमशः कम हुँदै गएको प्रवक्ता सुवेदीले बताए। गोँगबुस्थित नयाा बसपार्क , माछापोखरी र कलङ्की क्षेत्रमा आफ्नो गन्तव्यमा जाने यात्रुहरूको लामो लाम लागेको थियो।
उपत्यकाका मुख्य सडकहरू सुनसान, सुरक्षा व्यवस्था कडा
लाखौँको संख्यामा नागरिकहरू बाहिरिएसँगै हाल काठमाडौँ उपत्यकाका मुख्य सडकहरूमा सवारीसाधन र मानिसहरूको आउजाउ ह्वात्तै घटेको छ। सडकहरू क्रमशः सुनसान बन्दै गएपछि तीव्र गतिमा सवारी चलाउने, लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेर (मापसे/लापसे) गाडी चलाउने चालकहरूको संख्या बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले जाँच र सुरक्षा व्यवस्थामा विशेष कडाइ गरेको छ।
प्रतिक्रिया