काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालबाहेक एकीकृत समाजवादीका सबै नेतालाई एमालेमा स्वागत गर्ने बताएका छन्।
प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा भित्र्याउँदै पोखरेलले माधव नेपालले एमाले फुटाएर ठूलो गल्ती गरेको भन्दै उनका लागि एमालेको ढोका खुला नभएको बताएका हुन्।
उनले भने ‘हार्दिकतापूर्वक स्वागत गर्ने हो भने विश्वमणि होइन माधव नेपाल आउनुहुन्छ तर, हामीले माधव नेपालको लागि ढोका खोलेको छैनौं,तर उहाँले जुन गल्ती गर्नुभएको छ त्यो गल्तीबापत उहाँलाई स्वागत गर्ने पक्षमा एमाले छैन । त्यसैले उहाँले अरुलाई रोक्न खोज्नुभएको छ ।’
नेपालले एमालेबाट अलग्गिएर जीवनको सबैभन्दा ठूलो भुल गरेको समेत उनले उल्लेख गरे। नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उनको भनाइ छ। त्यही दुर्घटनामा माधव नेपाल पनि परेको पोखरेलले स्पष्ट पारे।
एमालेभित्र लामो जीवन बिताएका र योगदान गरेका नेता कार्यकर्ताले आफ्नो भविष्य सुरक्षित गर्ने हो भने समाजवादीमा अल्मलिन नहुने उनको तर्क छ। सरकारले दल विभाजनको अध्यादेश ल्याउला र आफ्नो पार्टी सकिएला भन्ने चिन्ता माधव नेपाललाई भएको जिकिर गरे।
फरक प्रसंगमा पोख्रेलले दल विभाजन सम्बन्धी अध्यादेश आउन लागेकोबारे कुनै पनि सत्यता नरहेको बताएका छन् । २० प्रतिशतक मान्छेले पार्टी फुटाउन मिल्ने अध्यादेश आउँदासमेत एमालेलाई केही नभएको स्मरण गर्दै पोख्रेलले अध्यादेशले पार्टी विग्रने र बन्ने नहुने जिकिर गरे ।
पोख्रेलले आम निर्वाचनको मिति घोषणा हुनासाथ एकीकृत समाजवादीका धेरै नेताहरु पार्टीमा नरहने दाबी गरेका छन् ।
समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहित उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट प्रेस चौतारीमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया