×

प्रधानमन्त्री ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम, प्रभु साहको प्रश्नमा प्रधानमन्त्रीको आक्रोश- म मेनपावरको मान्छे हुँ ? (पूर्णपाठ)

images

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरूले राखेको सवालको जवाफ दिएका छन् । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नुपर्ने प्रावधान बमोजिम आज प्रधानमन्त्री–सांसदबीच प्रश्नोत्तरको कार्यसूची राखिएको थियो ।

सो क्रममा १० जना सांसदले समसामयिक विषय, सरकारका काम कारबाही तथा जनसरोकारका विषयमा प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले अनेकन प्रश्न उठाएका छन् । तर जवाफ दिन रोष्ट्रममा बसेका प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैजसो प्रश्नमाथि प्रतिप्रश्न गरेका छन् ।

ओलीले देशभित्र गुणस्तरीय शिक्षा, रोजगारी र अन्य अवसरहरू सिर्जना गरी युवा पलायन रोक्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको जानकारी गराए। देशमा लगानीको वातावरण निर्माण गरि रोजगारी सिर्जना गर्न कानुनी तथा संस्थागत सुधारको लागि सरकारले निरन्तर काम गरिरहेको उनले बताए। ओलीले सरकारले संविधान अनुसार नै अध्यादेश जारी गरेको बताएका थिए।

यस्तै प्रतिनिधिसभाको बैठकमा भएको प्रश्नोत्तरमा सांसद प्रभु साहले संसद जस्तो गरिमामय ठाउँमा युवा विदेश पठाएर तपाइँलाई के लाभ भयो? जस्ता अपमानजनक भाषा प्रयोग गरेको भन्दै के म मेनपावर कम्पनीको मान्छे हुँ भन्दै प्रधानमन्त्री आक्रोसित भएका थिए।

उनले सांसद शाहले आफ्नो प्रश्नमा नै सबै उत्तर बोकेर आएको भन्दै उत्तर समेत दिएनन्।

उनले भने, ‘उहाँका प्रश्नहरु, उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश र अपमानजनक रहेका छन्। संसद जस्तो गरिमामय ठाउँमा यस्तो भाषा किन?, युवा विदेश पठाएर जस्ता भाषा के म मेनपावर कम्पनीको मान्छे हो? तपाईले भनेको ७० लाख म सरकारमा आइसकेपछि ८ महिनाबाट सुरु भएको हो? उहाँको प्रश्नमा उत्तर दिनुपर्ने केही छैन्। प्रश्नमा उत्तर बोकेर आउनु भएको छ। यहाँलाई धन्यवाद छ।’

सांसद साहले नेपालीले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुन्डिमार्फत खुलेआम कालोधनसँग मिलन भइराख्दा तपाई किन मौन बस्नुभयो? विदेशमा तीनिहरुले ट्रेड युनियनको हक नपाउनेगरी श्रम सम्झौता किन गर्नुभयो< अहिलेको शताब्दीमा नेपाली नागरिकलाई दासकीय जीवनमा धकेल्दा तपाईहरुले के कति लाभ पाउनुभयो? जस्ता प्रश्नहरु प्रधानमन्त्रीलाई गरेका थिए।

तथापि आफू पुनः सरकारको नेतृत्वमा आएपछि निर्वाचन क्षेत्र पूर्वाधार रणनीतिक सडक र अस्पतालहरू निर्माणको काम अगाडि बढेको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले भने, ‘उपलब्ध स्रोत र साधनलाई ध्यान दिई बाँकी सडक र अस्पतालहरू प्राथमिकता पूर्वक निर्माण भइरहेका छन् ।’ खासगरी विपक्षी दलहरूका सांसदप्रति प्रधानमन्त्री हावी हुनेगरी प्रस्तुत भए । सत्तापक्षका सांसदसँग छेडखानी गरेनन् र लिखित जवाफ पढेर सुनाए ।

पूर्ण पाठ

 

 

आइतबार​ ४ फागुन २०८१ ०९:०५ PM मा प्रकाशित

प्रतिक्रिया