काठमाडौँ । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासपछि सेलिब्रेटीहरुले आफ्नो पहिचान, आवाज र छबीको दुरुपयोग बढेपछि अदालत जाने क्रम बढेको छ । खासगरी बलिवुडका सेलिब्रेटीहरुले अदालतबाट आफ्नो व्यक्तिगत अधिकार सुरक्षित गर्न शुरु गरेका छन् । बलिवुडका महानायक अमिताभ बच्चन, अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्य राय बच्चन, आशा भोस्ले, सुनिल सेठ्ठी यस अघि नै अदालत गएर आफ्नो व्यक्तिगत अधिकार सुरक्षित गरेका छन् ।
पछिल्लो पटक बलिउडका वरिष्ठ गायक कुमार सानुले आफ्नो पहिचान, आवाज र गायन शैलीको दुरुपयोगविरुद्ध अदालत गएका छन् । उनले आफ्नो व्यक्तित्व र प्रचार अधिकारको सुरक्षाको लागि दिल्ली उच्च अदालतमा निवेदन दिएका छन् । उनले आफ्नो आवाज, गायन शैली, हस्ताक्षर, तस्बिरहरू र अनुहारको पनि एआई मार्फत नक्कल र दुरुपयोग भइरहेको दाबी गर्दै यसलाई रोक लगाउन अदालतमा निवेदन दिएका छन् ।
कुमार सानुले आफ्नो निवेदनमा सामाजिक सञ्जालमा धेरै मानिसहरूले एआई प्रयोग गरेर उनको आवाज क्लोन गरिरहेको बताएका छन् । केही भिडियोहरू र अडियो क्लिपहरूले उनको आवाज, शैली र व्यवहारको नक्कल गरेको र मजाक वा मीममा परिणत भइरहेका छन् । उनले यसले उनको छवि बिगारिरहेको छ र उनको कलाको व्यापारीकरण गरिरहेको दाबि गरेका छन् ।
सानुले यी नक्कली भिडियोहरूले फेसबुक, इन्स्टाग्राम र युट्युब जस्ता प्लेटफर्महरूमा राजस्व उत्पन्न गरिरहे, भिडियोहरूले उनलाई अश्लील हास्यको बटको रूपमा चित्रण गरको, जुन उनको कडा परिश्रम र प्रतिष्ठामा आक्रमण भएको उल्लेख गरेका छन् ।
सानुले अदालतलाई तेस्रो पक्षलाई आफ्नो नाम, आवाज वा छविको अनधिकृत व्यावसायिक प्रयोगबाट रोक्न र उनको नैतिक अधिकार उल्लङ्घन गर्ने कुनै पनि सामग्री तुरुन्तै हटाउन आदेश दिन माग गरेका छन् । साथै उनले प्रतिलिपि अधिकार ऐन अन्तर्गत, एक कलाकारको आफ्नो प्रदर्शनमाथि नैतिक अधिकार हुन्छ, र जब उनको कामलाई गलत वा अनुपयुक्त तरिकाले चित्रण गरिन्छ तब यी अधिकारहरू उल्लङ्घन हुन्छन् । सानुको निवेदनको सुनुवाई अक्टोबर १३ मा हुने बताइएको छ ।
प्रतिक्रिया