×

कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्छ : नेता कोइराला

images

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सम्पूर्ण कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । 

नेपाली कांग्रेस मोरङद्वारा आज विराटनगरको हाटखोलामा आयोजित  ‘घरघर जाऔँ, कांग्रेसलाई जिताऔँ’ अभियानअन्तर्गत आमसभामा उहाँले महाधिवेशनको तिक्ततालाई बिर्सेर संयुक्तरूपमा अगाडि बढेमा ७५३ पालिकामध्ये अत्याधिक क्षेत्रमा विजयी हुने दाबी गर्नुभयो । नेता कोइरालाले सरकारमा गठबन्धन दलहरुबीच निर्वाचनमा तालमेल गरी जाने सम्बन्धमा कांग्रेसका केन्द्रीय कार्यसमितिले जिल्ला र क्षेत्रलाई अधिकार दिएकाले सोहीअनुसार जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले लोकतन्त्रमा मात्र सङ्घीयता फस्टाउने भन्दै लोकतान्त्रिक पार्टी कांग्रेसले सङ्घीयतालाई बलियो बनाउने धारणा व्यक्त गर्नुभयो । नेता कोइरालाले मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन फजुल खर्चमा कटौती गर्नुपर्नेमा जोड दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीले विकासको गति अगाडि बढ्ने धारणा राख्नुभयो ।

पूर्वमन्त्री मीनेन्द्र रिजालले सङ्घीयतालाई कमजोर बनाउने कार्य विगतको सरकारले गरेको विचार राख्नुभयो । सङ्घीय सांसदद्वय डा डिला सङ्ग्रौला, रमेशजङ्ग रायमाझी र कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले सबै जातजाति, भाषाभाषीको सम्मान गर्ने पार्टी कांग्रेस भएकाले यसले मुलुकको विकास एवं जनताको आर्थिक समृद्धि कायम गर्ने धारणा राख्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सिंहदरबारको अधिकार घरघरमा पु¥याउने कार्य कांग्रेसले गरेकाले जनतामा यस पार्टीप्रति पूर्ण आस्था र विश्वास रहेको विचार राख्नुभयो । कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बू, पूर्वमन्त्री महेश आचार्य, ऊर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो, मधुबाबु तिवारी र शोभा पालुङ्वालगायतले कांग्रेस विधिको शासनमा प्रतिबद्ध रहेको विचार राख्नुभयो ।

बिहीबार २४ चैत २०७८ ११:३५ PM मा प्रकाशित

प्रतिक्रिया