बुटवल । रुपन्देहीमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। घाइते हुनेमा रुपन्देहीको रोहिणी गाउँपालिका-२ खुरहुरियाका विशाल यादव रहेका छन्।
रोहिणी गाउँपालिका-४ कोटहवामा लागूऔषध ओसारपसारको सूचनाको आधारमा तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा उनीहरू भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाएको थियो।
त्यस क्रममा विशालको वाँया खुट्टाको पिडुलामा गोली लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। उनको हाल भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ।
नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा प्रहारसमेत गरेका थिए। त्यसक्रममा प्रहरीले एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली प्रहार गरी लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको महाराजगञ्जका विशाल यादव, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट लागूऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद गरेको छ।
प्रतिक्रिया