×

ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्टको अदालतमा बयान: 'बेडरुममा मृत भेटिएपछि शव टुक्राटुक्रा पारेँ'

images

भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्दै आएकी नेपाली नर्स ममता काफ्ले भट्टको हत्या मुद्दामा उनका पति नरेश भट्टले अदालतसमक्ष आत्मसमर्पण जस्तै देखिने गरी सनसनीपूर्ण बयान दिएका छन्। उनले सन् २०२४ जुलाई ३० को बिहान आफ्नी पत्नी ममतालाई बेडरुमको भुइँमा मृत अवस्थामा फेला पारेपछि शवलाई टुक्राटुक्रा पारेर फालिदिएको अदालतसमक्ष स्वीकार गरेका हुन्। 

नरेशमाथि भर्जिनिया अदालतमा पहिलो डिग्रीको हत्या (First-degree murder), शव लुकाएको र मृत शरीरको अपमान गरेको गम्भीर अभियोगहरू दर्ता छन्। 

बयानमा विष र रसायनको दाबी

अदालतमा पेस भएको बयान अनुसार, घटनाको दिन जुलाई ३० को बिहान ममताको अनुहार र बेडरुमको भुइँमा बान्ता लतपतिएको अवस्थामा नरेशले देखेका थिए। उक्त बान्तामा रगत, खानाका कण, औषधिका क्याप्सुलहरूका साथै कृषि क्षेत्रमा कीरा मार्न प्रयोग गरिने अत्यन्तै शक्तिशाली र घातक रसायन ‘सेल्फोस’ (एल्युमिनियम फोस्फाइड) को गन्ध र सङ्केत पाइएको नरेशको दाबी छ। 

नरेशले अदालतसमक्ष भनेका छन् कि पत्नीलाई अचेत अवस्थामा देखेपछि सुरुमा उनलाई उठाएर सीपीआर (प्रारम्भिक आकस्मिक उपचार) दिई बचाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन।

शारीरिक रूपमा थाकेकाले पहिलो दिन खुट्टा मात्र काटेको स्वीकारोक्ति

पत्नीको मृत्यु भइसकेको सुनिश्चित गरेपछि कानुनी सजायबाट बच्ने डरले आफूले हतास मनस्थितिमा शवलाई तह लगाउने निर्णय लिएको नरेशले बताएका छन्। उनले मृत शरीरको खुट्टा र अन्य भागहरू आरा (पावर स) को प्रयोग गरेर छुट्टाउने प्रयास गरेका थिए। तर, शव काट्ने क्रममा शारीरिक रूपमा अत्यन्तै थकित भएका कारण पहिलो दिन नै सबै शव पूर्ण रूपमा टुक्रा पार्न नसकेको उनले अदालतसमक्ष बताए। 

शवलाई बाथरुममा सारेपछि उनले बेडरुमको ढोकामा बच्चाका सामानहरू तेर्स्याएर ढोका थुनेका थिए। सोही राति उनी आफ्नी शिशु छोरीको रेखदेखमा व्यस्त रहेकाले सुत्न समेत नपाएको जिकिर गरेका छन्। 

शव अझै बेपत्ता, घरमा भेटिएका थिए रगत र आरा

नरेशले शव टुक्राटुक्रा पारी फोहोर फाल्ने प्लास्टिकका झोलाहरूमा राखेर विभिन्न ठाउँमा विसर्जन गरेको अभियोजकहरूको दाबी छ। अमेरिकी प्रहरी (प्रिन्स विलियम काउन्टी पुलिस) ले विभिन्न जङ्गल र सम्भावित क्षेत्रमा व्यापक खोजी गरे पनि ममताको शवका अवशेषहरू अहिलेसम्म फेला पार्न सकेको छैन।

भर्जिनियाको प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत २८ वर्षीया ममता अचानक काममा अनुपस्थित भएपछि यो घटना बाहिर आएको थियो। घटनालाई लुकाउन नरेशले सुरुमा नाटक गर्दै अगस्ट ५, २०२४ मा पत्नी हराएको भनी प्रहरीमा उजुरी दिएका थिए र उनी सम्बन्धविच्छेदको धम्की दिएर हिँडेको झुटो दाबी गरेका थिए। 

तर, शङ्का लागेर प्रहरीले उनीहरूको घरमा छापा मार्दा बेडरुम र बाथरुममा रगतका ठुला दागहरू फेला परेका थिए, जुन फरेन्सिक जाँचमा ममताकै रगत भएको पुष्टि भइसकेको छ। घरबाटै कपालका रेसाहरू टाँसिएको विद्युतीय आरा (Power Saw) समेत बरामद भएपछि प्रहरीले अगस्ट २२, २०२४ मा नरेशलाई पक्राउ गरेको थियो। उनी अहिले पनि हिरासतमा छन् र यो मुद्दाको अन्तिम फैसला आउन बाँकी छ। 

शुक्रबार​ २१ कात्तिक २०८३ ०९:५१ AM मा प्रकाशित

प्रतिक्रिया