काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशन र १५औँ महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई नियतवश रचिएको षड्यन्त्र र सुनियोजित दुष्प्रचारको संज्ञा दिँदै पूर्ण रूपमा खारेज गरेको छ। बुधबार पार्टीका महामन्त्री प्रदीप पौडेलले एक विज्ञप्ति जारी गर्दै प्रतिपक्षको सशक्त आवाजलाई दबाउन सरकार संरक्षित गिरोहले यस्तो कृत्रिम भाष्य निर्माण गर्न खोजेको आरोप लगाउनुभएको हो।
विज्ञप्तिमा नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधानअनुसार पूर्ण लोकतान्त्रिक प्रक्रियाबाट महाधिवेशन सम्पन्न भएको स्पष्ट पारिएको छ। महामन्त्री पौडेलले भन्नुभएको छ, “संविधान र विधानअनुसार भएको महाधिवेशनमाथि गरिएको शृङ्खलाबद्ध षड्यन्त्रमार्फत नेपाली कांग्रेसका आम सदस्य र लाखौँ शुभेच्छुक सबैको मानमर्दन गर्न खोजिएको छ। तर, यस्तो दुष्प्रचारले आम सदस्य र शुभेच्छुकको विश्वासलाई कत्ति पनि आघात पुर्याउन सक्दैन।”
कांग्रेसले राजनीतिक प्रतिशोध साध्न र ‘भय एवं भ्रमको शासन’ चलाउन खोज्ने प्रवृत्तिलाई तत्काल बन्द गर्न चेतावनीसमेत दिएको छ।
नेपाली कांग्रेसले संसद् र सडकबाट सरकारका गलत क्रियाकलाप, सुशासनको अभाव र जनसरोकारका मुद्दामा निरन्तर प्रश्न उठाउँदै आएको छ। प्रतिपक्षीय निगरानीका कारण अत्तालिएको सरकार संरक्षित गिरोहले आफ्ना गल्तीहरू ढाकछोप गर्न र जनताको ध्यान अन्तै मोड्न (विषयान्तर गर्न) यो कपोलकल्पित प्रपञ्च रचेको कांग्रेसको ठहर छ।
“आधारहीन तथा कपोलकल्पित विषयहरू नेपाली कांग्रेस र कांग्रेसको नेतृत्वविरुद्ध रचेको कृत्रिम भाष्य हो। प्रतिपक्षको प्रश्न र आवाजलाई दबाबमा राख्न सकिन्छ कि भन्ने सोच र षड्यन्त्रका साथ यी विषय निर्मित भएका हुन् भन्नेमा हामी प्रष्ट छौँ,” महामन्त्री पौडेलले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।
कांग्रेसले यस्ता खाले राजनीतिक षड्यन्त्र र अफवाहका पछि नलाग्न आफ्ना नेता, कार्यकर्ता तथा आम सर्वसाधारणलाई आग्रह गरेको छ। सरकारका कमीकमजोरीमाथि निरन्तर प्रश्न गरिरहने स्पष्ट पार्दै कांग्रेसले जनसरोकारका मुद्दा, विधिको शासन र नागरिक स्वतन्त्रता रक्षाका पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पङ्क्तिलाई अपिल गरेको छ।
प्रतिक्रिया