काठमाडौं। नेपाली कांग्रेसले पार्टी र शीर्ष नेतृत्वविरुद्ध सुनियोजित रूपमा दुष्प्रचार गरी पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको निष्कर्ष निकालेको छ। पार्टीले आफू र आफ्नो नेतृत्वमाथि लगाइएका आरोपबारे निष्पक्ष तथा तथ्यमा आधारित छानबिन गर्न आफूहरू तयार रहेको स्पष्ट पारेको छ।
बिहीबार पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको संयुक्त बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले सत्ता र राज्य समर्थित केही व्यक्तिहरूको संलग्नतामा नेपाली कांग्रेसविरुद्ध भ्रम फैलाउने षड्यन्त्र भइरहेको आरोप लगाए।
उनले पार्टी र शीर्ष नेतृत्वविरुद्ध भइरहेको प्रचार तथा गतिविधिबारे जस्तोसुकै छानबिन गर्न पनि कांग्रेस तयार रहेको बताए। तर, छानबिन निष्पक्ष, पारदर्शी र तथ्य तथा प्रमाणमा आधारित हुनुपर्ने उनको जोड थियो।
‘नेपाली कांग्रेस र पार्टी नेतृत्वविरुद्ध भइरहेको खराब प्रचार तथा षड्यन्त्रबारे जस्तोसुकै छानबिनका लागि पनि हाम्रो पार्टी र नेतृत्व तयार छ,’ सहमहामन्त्री रसाइलीले भने, ‘तर, जुनसुकै छानबिन पनि तथ्य र प्रमाणका आधारमा हुनुपर्छ। बिना प्रमाण पूर्वाग्रही र प्रतिशोधपूर्ण ढङ्गले गरिने कदमलाई हामी कदापि स्वीकार गर्दैनौँ।’
सहमहामन्त्री रसाइलीले सत्यतथ्य र प्रमाणका आधारमा हुने कुनै पनि छानबिनमा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। तर, छानबिनका नाममा राजनीतिक प्रतिशोध साँध्ने वा पार्टी र नेतृत्वलाई लक्षित गरी पूर्वाग्रही व्यवहार गरिए त्यसको सशक्त प्रतिवाद गरिने उनले चेतावनी दिए।
उनले त्यस्तो अवस्था आएमा कांग्रेसले संसद्, संसदीय समिति र सडकबाटै प्रतिकार गर्ने स्पष्ट पारे। उनका अनुसार पदाधिकारी तथा सांसदहरूसँगको संयुक्त बैठकमा पार्टीविरुद्ध भइरहेको प्रचार, त्यसको राजनीतिक प्रभाव र आगामी रणनीतिबारे विस्तृत छलफल भएको थियो।
बैठकमा यस विषयलाई प्रतिनिधिसभा तथा विभिन्न संसदीय समितिहरूमा कसरी प्रभावकारी र सशक्त रूपमा उठाउने भन्नेबारे पनि रणनीति तय गरिएको रसाइलीले जानकारी दिए। पार्टीको प्रतिष्ठा र नेतृत्वको विषयमा उठेका प्रश्नलाई तथ्य र प्रमाणका आधारमा सामना गर्ने कांग्रेसको तयारी रहेको उनको भनाइ छ।
प्रतिक्रिया