×

'देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ': रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री बालेनको कडा काउन्टर

images

काठमाडौँ, २० कात्तिक । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको राजनीतिक दोहोरो चरित्रमाथि तीखो प्रहार गर्नुभएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने सरकारको निर्णयलाई लिएर रास्वपाभित्र नेतृत्व र प्रवक्ता तहमा विरोधाभासपूर्ण कुराहरू बाहिरिएपछि प्रधानमन्त्री शाहले बिहीबार राति सामाजिक सञ्जालमा एक आक्रामक पोस्ट लेख्नुभएको हो।

उहाँले रास्वपाका नेताहरू मुलुकको हित भन्दा पनि आफ्नो दल र राजनीतिक अस्तित्व जोगाउने खेलमा लागेको सङ्केत गर्नुभएको छ।

रवि लामिछानेको प्रश्न र रास्वपाको असन्तुष्टि

यसअघि मन्त्रिपरिषद्ले आईजीपी दानबहादुर कार्कीलाई हटाएर डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गरेपछि रास्वपाले असन्तुष्टि जनाएको थियो। रास्वपाका प्रवक्ता जगदीश खरेलसहितका नेताहरूले आईजीपी परिवर्तनको निर्णय पार्टीसँगको छलफलबाट नभएको बताएका थिए।

लगत्तै पार्टी सभापति रवि लामिछानेले सार्वजनिक रूपमा सरकारले आईजीपी परिवर्तनको औचित्य पुष्टि गर्नुपर्ने माग गर्नुभएको थियो । लामिछानेले सरकारका सबै निर्णयमा पार्टीले अन्धभक्त भएर समर्थन नगर्ने र आवश्यक परे फरक धारणा राख्ने चेतावनी समेत दिनुभएको थियो।

'हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन्'

रास्वपा नेतृत्वको सोही अडान र असन्तुष्टिप्रति जवाफ फर्काउँदै प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकार कुनै दल विशेषको स्वार्थमा नभई देश जोगाउनेतर्फ केन्द्रित रहेको दाबी गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा कडा शब्दमा प्रहार गर्दै प्रधानमन्त्री शाहले लेख्नुभएको छ :

“तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन्। फरक यति हो! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।”

सत्ता गठबन्धनभित्र चर्कियो 'डिजिटल वार'

आईजीपी फेरबदलको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले सरकारमाथि प्रहार गरिरहेकै बेला सत्तारूढ घटक रास्वपा र स्वयं प्रधानमन्त्रीबीच सामाजिक सञ्जालमा सुरु भएको यो ‘डिजिटल वार’ ले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरिदिएको छ । प्रधानमन्त्रीको यो प्रष्टीकरणले सरकार विधिको शासन र राष्ट्रिय सुरक्षाको मामिलामा साझेदार दलहरूको दबाबमा नझुक्ने सङ्केत गरेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन्। फरक यति हो! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’, उनले फेसबुकमा लेखेका छन्।

 

शुक्रबार​ २१ कात्तिक २०८३ १०:०८ AM मा प्रकाशित

प्रतिक्रिया