×

बालेन-रवि विवादमा गोकुल बास्कोटाको इन्ट्री— '४ वर्ष रवि लामिछाने बालेनका साक्षी मात्रै बन्नेछन्'

images

काठमाडौँ, २० कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुलप्रसाद बास्कोटाले वर्तमान राजनीतिक सत्ता समीकरण र दलहरूबीचको आन्तरिक द्वन्द्वलाई लिएर नयाँ टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र सत्ता साझेदार दल रास्वपाका सभापति रवि लामिछानेबीच प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदलको विषयलाई लिएर सामाजिक सञ्जालमा जुहारी चलिरहेका बेला नेता बास्कोटाको यस्तो भनाइ सार्वजनिक भएको हो।

नेता बास्कोटाले जनताको अभिमतको प्रकृतिको चर्चा गर्दै अबको बाँकी कार्यकालमा रास्वपाको भूमिका सहायक मात्र हुने सङ्केत गर्नुभएको छ।

'बालेनलाई जनताले सोझै प्रधानमन्त्री चुनेका हुन्'

सामाजिक सञ्जालमा आफ्नो स्पष्ट र तिखो धारणा राख्दै नेता बास्कोटाले विद्यमान कानुनी व्यवस्था प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको नभए पनि जनताको मनोविज्ञान बालेन शाहलाई सोझै प्रधानमन्त्री बनाउने खालको रहेको उल्लेख गर्नुभएको छ।

उनले लेख्नुभएको छ:

“चुनावमा जनताले व्यवस्था नभए पनि बालेनलाई सोझै प्रम (प्रधानमन्त्री) चुनेका हुन्। तसर्थ चार वर्ष रवि बालेनको साक्षी मात्र हुन्।”

पार्टी सत्ता र राज्यसत्ताको द्वन्द्व: बिपी–मातृकाको इतिहास स्मरण

नेता बास्कोटाले सरकार र सरकारमा सहभागी दलहरूबीच अहिले देखिएको असमझदारी र खिचातानी नेपाली राजनीतिको पुरानै रोग भएको दाबी गर्नुभएको छ। इतिहासदेखि नै पार्टी सत्ता र राज्यसत्ताको नेतृत्व बीचको द्वन्द्वमा सधैँ पार्टी नै हार्दै आएको ऐतिहासिक तथ्य उहाँले स्मरण गराउनुभएको छ।

“यो नयाँ होइन। पार्टी सत्ता र राज्यसत्ताको नेतृत्व द्वन्द्वमा पार्टी हारेको इतिहास छ। बिपी (विश्वेश्वरप्रसाद कोइराला) मातृका (मातृकाप्रसाद कोइराला) देखि आजसम्म– यत्रतत्र सर्वत्र,” बास्कोटाले थप्नुभएको छ।

प्रधानमन्त्री बालेन शाहले 'देश जोगाउने र पार्टी जोगाउने कुरा फरक रहेको' भन्दै रास्वपा सभापति लामिछानेलाई काउन्टर दिएको भोलिपल्टै प्रतिपक्षी दल एमालेका नेता बास्कोटाले रास्वपाको राजनीतिक हैसियत र वर्तमान सत्ताको चरित्रमाथि यसरी टिप्पणी गरेपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।


शुक्रबार​ २१ कात्तिक २०८३ १०:१६ AM मा प्रकाशित

प्रतिक्रिया