×

गगन थापालाई पक्राउ गर्ने हल्ला निराधार भन्दै कांग्रेसको आपत्ति, सरकारमाथि दुष्प्रचारको आरोप

images

काठमाडौं। नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई पक्राउ गर्न लागिएको भन्ने चर्चा पूर्णतः निराधार भएको ठहर गर्दै यस्तो भ्रम सत्तापक्षबाटै नियोजित रूपमा फैलाइएको आरोप लगाएको छ। सरकारले आफ्ना कमजोरी ढाकछोप गर्न र जनताको ध्यान अन्यत्र मोड्न पार्टी सभापतिलाई पक्राउ गर्ने हल्ला फैलाएको कांग्रेसको निष्कर्ष छ।

पार्टी पदाधिकारीहरूको अनौपचारिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सभापति थापालाई पक्राउ गर्नुपर्ने कुनै कानुनी आधार र प्रमाण नरहेको स्पष्ट पारे।

उनले पार्टी सभापतिलाई पक्राउ गर्ने विषयमा फैलाइएको हल्ला राजनीतिक उद्देश्यबाट प्रेरित रहेको दाबी गर्दै आधारहीन प्रचारको पार्टीले सशक्त प्रतिवाद गर्ने बताए।

‘पार्टी सभापतिलाई पक्राउ गर्ने निराधार हल्ला सत्तापक्षबाटै चलाइएको छ,’ पौडेलले रातोपाटीसँग भने, ‘यदि पक्राउ गर्ने नै हो भने त्यसको तथ्य र आधार पुष्टि गर्नुपर्ला। बिनाआधार चलाइएको यस्तो निराधार हल्लाको पार्टीले सशक्त रूपमा चिरफार गर्छ।’

महामन्त्री पौडेलका अनुसार बैठकमा पछिल्लो समय सरकारले गरेका विभिन्न विवादास्पद निर्णय तथा गतिविधिबारे गम्भीर समीक्षा गरिएको थियो। विशेषगरी सरकारको कार्यशैली, राज्यका निकायको प्रयोग, प्रेस स्वतन्त्रता र विधिको शासनसँग जोडिएका विषयमा पदाधिकारीहरूले छलफल गरेका थिए।

बैठकमा मिडिया हाउसभित्रै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरिएको घटनालाई विशेष रूपमा उठाइएको थियो। सञ्चारमाध्यमभित्र प्रवेश गरी पत्रकार पक्राउ गर्ने कार्यले प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको कांग्रेसको ठम्याइ छ।

त्यसैगरी अदालतका बिचौलिया भनिएका इनाम सापकोटाको पक्राउ र त्यससँग जोडिएका विभिन्न रहस्य तथा घटनाक्रमबारे पनि बैठकमा छलफल भएको थियो। उक्त घटनाको निष्पक्ष अनुसन्धान र वास्तविकता सार्वजनिक हुनुपर्ने विषयमा समेत कांग्रेसले चासो व्यक्त गरेको छ।

यस्तै, नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने तथा प्रहरी नेतृत्व परिवर्तन गर्ने सरकारको निर्णयलाई पनि कांग्रेसले गम्भीर रूपमा लिएको छ। प्रहरी संगठनको नेतृत्व परिवर्तनमा अपनाइएको प्रक्रिया र त्यसको औचित्यबारे बैठकमा समीक्षा भएको बताइएको छ।

कांग्रेसका अनुसार पछिल्ला घटनाक्रमले विधिको शासन, प्रेस स्वतन्त्रता र सुरक्षा निकायको व्यावसायिक स्वतन्त्रतामाथि चुनौती थपिएको छ। सरकारले राज्यका निकायलाई आफ्नो अनुकूल प्रयोग गर्न खोजेको भन्दै पार्टीले त्यसप्रति असन्तुष्टि जनाएको छ।

संसद्मा सरकारका कदमविरुद्ध सशक्त आवाज उठाउने तयारी

यसैबीच, सरकारले पछिल्लो समय चालेका विवादास्पद तथा स्वेच्छाचारी कदमविरुद्ध संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि कांग्रेसले रणनीति बनाएको छ।

बैठकमा पार्टीका पदाधिकारीहरूले संसदीय दलका नेता तथा विभिन्न विषयगत संसदीय समितिमा रहेका सांसदहरूसँग आवश्यक परामर्श गरेका थिए। सरकारका निर्णय र गतिविधिलाई संसद्मा कुन प्रक्रियाबाट उठाउने, कुन विषयमा संसदीय बहस आवश्यक छ र कसरी प्रभावकारी प्रतिवाद गर्ने भन्नेबारे छलफल भएको महामन्त्री पौडेलले जानकारी दिए।

उनका अनुसार संसद्मा जनसरोकारका विषय, विधिको शासनको रक्षा, प्रेस स्वतन्त्रता तथा सरकारको कार्यशैलीविरुद्ध एकताबद्ध रूपमा आवाज उठाउने कांग्रेसको तयारी छ।

कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध फैलाइएका भनिएका भ्रम तथा दुष्प्रचारको राजनीतिक र तथ्यगत रूपमा प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ।

पछिल्लो राजनीतिक घटनाक्रम, प्रहरी नेतृत्व परिवर्तन, पत्रकार पक्राउ प्रकरण तथा सभापति गगन थापालाई पक्राउ गर्ने चर्चा लगायतका विषयले सरकार र प्रमुख प्रतिपक्षी दलबीचको राजनीतिक दूरी थप बढाउने संकेत देखिएको छ। अब यी विषय संसद्मा कसरी उठ्छन् र सरकारले कांग्रेसले उठाएका प्रश्नको कसरी जवाफ दिन्छ भन्ने विषय चासोको केन्द्रमा रहने देखिन्छ।

बिहीबार २० कात्तिक २०८३ ०८:५८ PM मा प्रकाशित

प्रतिक्रिया