काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई 'चेन अफ कमान्ड' उल्लङ्घन गर्दै निजी मोबाइलमा सन्देश (मेसेज) पठाएको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि छाडेको छ। बिहीबार साँझ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कपनस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको थियो। करिब ७ घण्टा प्रहरी नियन्त्रणमा राखेपछि उनलाई राति नै पत्नीको जिम्मा लगाएर छाडिएको हो।
भेट्ने प्रयास असफल भएपछि मेसेज
यही असार २४ गते सचिव पदको ५ वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाश पाउन लागेका सचिव पुष्करले प्रधानमन्त्री शाहसँग भेटघाटका लागि पटक-पटक समय मागेका थिए। तर, लामो समयसम्म पनि भेट्ने प्रयास सफल हुन नसकेपछि उनले प्रधानमन्त्रीको निजी मोबाइल नम्बरमा सिधै सन्देश पठाएको बुझिएको छ। प्रधानमन्त्रीलाई पठाएको म्यासेजमा उनले लेखेका छन्, “राजदूतको निम्ति भ्याकेन्सी खुलेको छ, मैले पनि आवेदन दिन लागेको, सहयोग पाउने अपेक्षा छ हजुर !”
प्रशासनिक मर्यादित प्रणाली र 'चेन अफ कमान्ड' मिचेर देशको कार्यकारी प्रमुखलाई सिधै मेसेज पठाएको भन्दै उनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो।
मुद्दा नचल्ने भएपछि श्रीमतीको जिम्मामा रिहा
प्रहरी वृत्तमा सोधपुछका क्रममा उनले अवकाशको मुखमा शिष्टाचार भेट र आफ्ना केही कुरा राख्न मात्रै मेसेज पठाएको स्पष्ट पारेका थिए। प्रहरीले प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्दा उनीमाथि मुद्दा चलाउनुपर्ने पर्याप्त कानुनी आधार र औचित्य नदेखेपछि राति नै श्रीमतीको रोहबरमा जिम्मा लगाई छाडेको हो।
कर्मचारीतन्त्र तरङ्गित
नेपाल सरकारका एक बहालवाला विशिष्ट श्रेणीका उच्च अधिकारी (सचिव) लाई सामान्य सन्देश पठाएकै भरमा प्रहरीले घरैबाट नियन्त्रणमा लिएको यो घटनाले सिंहदरबार र सिंगो कर्मचारीतन्त्रमा ठुलो तरङ्ग पैदा गरेको छ। अवकाशको संघारमा रहेका उच्च कर्मचारीमाथि गरिएको यस्तो व्यवहारलाई लिएर प्रशासनिक क्षेत्रमा विभिन्न टीकाटिप्पणी र बहस सुरु भएका छन्।
प्रतिक्रिया