×

कांग्रेस–एमालेको समीकरणले स्टन्टबाजी गर्दैन - प्रधानमन्त्री ओली

images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको समीकरणले स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कतिपयले भ्रम फिजाउने कोशिस गरिरहेको बताए ।

कतिपयले संविधानलाई विश्वास मात्र गर्नुपर्ने, फेर्न नपाउने ग्रन्थ जस्तो प्रचार गरेको उनको तर्क छ । आफूहरुले भनेको संविधान संशोधन प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीहरुको उद्घोष नभएको भन्दै उनले भने, ‘हामीले भनेको संविधान संशोधन लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानको स्वीकार्यता र प्रभावकारी अभिवृद्धि गर्न हो ।’

साथै  कांग्रेस र एमालेको समीकरणले कुनै भुलभुलैयामा, पपुलिस्ट हुने वा स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने समेत प्रधानमन्त्री ओलीले बताए ।  ‘हाम्रो पार्टीमा कुनै गुटबन्दी स्वीकार्य छैन। कतिपयले प्रजातन्त्रका लागि झगडा हुनुपर्छ पनि भन्छन्, हाम्रोमा त्यस्तो हुँदैन,’ ओलीले भने। 

साथै, उनले गुटबन्दीको विषयलाई गम्भीर भएर मनन गर्न पनि कार्यकर्तालाई निर्देशन दिए। ‘यस्तो कुरा कति सुनिया सुनियो भन्नुहोला, यो सुनेर उडाउने कुरा होइन। मनन गर्ने कुरा हो,’ उनले भने।  गत साउन १७ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले   सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट) जितेन्द्र देव (सुनसरी),रामपृत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) ,गोविन्द पुन (सल्यान) केदार सिग्देल (तनहुँ) र मनमोहन पौडेल (पर्वत) लाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

त्यसैगरी भरदेव जोशी (दार्चुला) ,हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर),सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) पनि एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । 

आइतबार​ २० साउन २०८१ ०२:१४ PM मा प्रकाशित

प्रतिक्रिया