×

अर्बपति बने शाहरुख खान

images

काठमाडौँ । बलिउड सुपरस्टार शाहरुख खान पहिलो पटक 'अरबपति क्लब' मा सामेल भएका छन् भने उनी विश्वका सबैभन्दा धनी अभिनेताहरू मध्ये एक बनेका छन् । 'अरबपति क्लब' को अर्थ शाहरुख खानको सम्पत्ति एक अर्ब डलर नाघेको छ ।

५९ वर्षीय शाहरुख खानको सम्पत्ति लगभग १.४ बिलियन डलर  (लगभग २० हजार करोड ) अनुमान गरिएको छ । यो अनुमान हुरुन इन्डिया रिच लिस्ट २०२५ मा आधारित छ, जसले वार्षिक रूपमा भारतका सबैभन्दा धनी व्यक्तिहरूलाई स्थान दिन्छ ।

यसले उनलाई अर्नोल्ड स्वार्जनेगर, पप स्टार रिहाना, गोल्फर टाइगर वुड्स र गायिका टेलर स्विफ्ट जस्ता प्रमुख विश्वव्यापी सेलिब्रेटीहरूको सुचिमा राखेको छ । फोर्ब्स पत्रिकाले टेलर स्विफ्टको कुल सम्पत्ति १.६ बिलियन डलर अनुमान गरेको छ ।

सूचीमा अभिनेत्री जुही चावला, अभिनेता ऋतिक रोशन, अमिताभ बच्चन र फिल्म निर्देशक करण जोहर पनि समावेश छन् ।

प्रायः 'रोमान्सका राजा' भनेर चिनिने शाहरुख खानले हिन्दी फिल्म उद्योगमा तीन दशकभन्दा बढी समय बिताएका छन् । उनले अभिनय मात्र गरेका छैनन्, आफूलाई एक प्रमुख उत्पादन कम्पनी र क्रिकेट टोलीको मालिकको रूपमा पनि स्थापित गरेका छन् ।

शाहरुख खानको अर्बपति हैसियत मुख्यतया रेड चिलीज इन्टरटेनमेन्ट (उनको उत्पादन कम्पनी) र नाइट राइडर स्पोर्ट्स (आईपीएल क्रिकेट क्लब) मा उनको हिस्सेदारीको कारणले हो ।

उनको अन्य आम्दानीमा फिल्मको आम्दानी र विश्वभरका सम्पत्तिहरूमा लगानी रहेको छ । अरबपति क्लबमा शाहरुख खानको प्रवेशले भारतको अर्थतन्त्रको परिवर्तनशील प्रकृतिलाई प्रतिबिम्बित गरेको विश्लेषण गरिएको छ ।

यस वर्ष हुरुन सूचीमा चार थप बलिउड सेलिब्रेटीहरू र उनीहरूका परिवारहरू समावेश गरिएका छन्, तर शाहरुख खानको सम्पत्ति उनीहरूको भन्दा धेरै बढी हुने अनुमान गरिएको छ ।

शाहरुख खानकी सह-कलाकार जूही चावला र उनको परिवार दोस्रो स्थानमा छन्, जसको कुल सम्पत्ति ८८० मिलियन डलर रहेको छ । त्यस्तै ऋतिक रोशनको २६० मिलियन डलर रहेको छ भने निर्देशक करण जोहरको सम्पत्ति लगभग २०० मिलियन डलर छ, र अभिनेता अमिताभ बच्चन र उनको परिवार पनि लगभग १८३ मिलियन डलर रहेको छ ।

हुरुन इन्डियाका अनुसार यस वर्ष भारतीय अर्बपतिहरूको कुल संख्या ३५० नाघेको छ। मुकेश अम्बानी र गौतम अदानीले सूचीमा शीर्ष दुई स्थान कायम रहेका छन् ।

 

शुक्रबार​ १७ असोज २०८२ १०:५२ AM मा प्रकाशित

प्रतिक्रिया