×

बागमती प्रदेशसभामा माओवादी संसदीय दलको नेतामा शालिकराम जमरकटेल

images

काठमाडौं । बागमती प्रदेशसभामा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् । शनिबार बसेको प्रदेशसभा संसदीय दलको बैठकले जम्मकट्टेललाई सर्वसम्मत दल नेता चयन गरेको प्रदेशसभा सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

२०७४ सालमा पनि बागमती प्रदेशसभा सदस्यमा धादिङ–१ (२) बाट निर्वाचित जम्मकट्टेल प्रदेशको आन्तरिक मामिला र आर्थिक मामिलामन्त्री भइसकेका छन् । दलको नेतामा दलको नेतामा जम्मकट्टेलसँगै गंगा श्रेष्ठ, सरल सहयात्री पौडेल र युवराज दुलाल पनि आकांक्षी थिए ।

प्रदेश अध्यक्ष समेत रहेका सरल आफ्नो नाममा सहमति नभए चुनाव लड्न चाहन्थे ।  संसदीय दलको नेता बनाउन चुनाव नगर्ने, सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष प्रचण्डले निर्देशन दिएका थिए । प्रचण्डको निर्देशनपनि सहमति जुटाउनका लागि माओवादी नेताहरू हितमान शाक्य, नारायण दाहाल लगायत खटिएका थिए ।

निर्वाचनबाट संसदीय दलको नेता चयनको माग गर्दै आएका प्रदेश सांसद सहयात्रीले पार्टीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सहमतिको नाममा जमरकटेललाई दलको नेता बनाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन् । 

उनले भनेका छन्– ‘गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो । छिर्के लगाएर पनि गेम त जितिन्छ तर मन जितिँदैन । जबसम्म मन जितिँदैन केहीपनि जितिँदैन । म हरेकपटक छिर्के लगाएर लडाइए पनि धुलो टक्टक्याउँदै कुदिरहेको धावक हुँ ।’ सांसद सहयात्री सिन्धुपाल्चोकबाट निर्वाचित भएका थिए ।

शनिबार १६ पुस २०७९ ०८:५८ PM मा प्रकाशित

प्रतिक्रिया