विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शव घटनाको ६ दिनपछि आफन्तले बुझेका छन्। सरकार र पीडित परिवारबीच शुक्रबार बिहान ७ बुँदे सहमति भएपछि विराटनगरस्थित कोशी अस्पतालमा शवको पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको हो।
शव बुझेसँगै आफन्त र स्थानीयले गाडीमा राखेर भावपूर्ण शवयात्रा गर्दै अन्तिम संस्कारका लागि आफ्नो गाउँ कप्तानगञ्जतर्फ लगेका छन् र आजै उनीहरूको अन्त्यष्टि गरिने पारिवारीक स्रोतले जनाएको छ।
गत साउन १० गते आइतबार राति दुई समूहबीचको विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो।
गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच शुक्रबार बिहान ५ बजे नै ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भइसकेको थियो। तर, विराटनगर आएका आफन्तले सहमति कार्यान्वयनको सुनिश्चितता नभएको भन्दै दिउँसो पुनः शव बुझ्न अस्वीकार गरेर गाउँ फर्किएका थिए।
आफन्तहरूले देवानगञ्जसँगै प्रदर्शनका क्रममा सिरहाको गोलबजारमा गोली लागी ज्यान गुमाएका गणेश यादवको परिवारसँग पनि सरकारले तत्काल सम्झौता गर्नुपर्ने नयाँ माग अघि सारेपछि केही बेर अन्योल बढेको थियो।
स्थिति जटिल बन्दै गएपछि सुनसरी र मोरङ प्रहरीको संयुक्त टोली मृतकको घरमै पुगेर परिवारका सदस्यहरूसँग पुनः सघन छलफल र समन्वय गरेपछि मात्र आफन्तहरू शव बुझ्न र पोस्टमार्टम गर्न तयार भएका हुन्।
सरकार र पीडित पक्षबीच भएको सम्झौता अनुसार दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया गृह मन्त्रालयले तत्काल अघि बढाउनेछ। यसका साथै प्रतिपरिवार १० लाख रुपैयाँ आर्थिक राहत, परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको व्यवस्था, घटनाको निष्पक्ष छानबिन र गाउँमा 'स्मृति पार्क' निर्माण गरिने लिखित प्रतिबद्धता जनाइएको छ। पोस्टमार्टम सकिएर शव गाउँ लगिएसँगै ६ दिनदेखि ठप्प रहेको देवानगञ्ज र आसपासको तनावपूर्ण स्थिति बिस्तारै सामान्य र नियन्त्रण उन्मुख बन्ने अपेक्षा स्थानीय प्रशासनले लिएको छ।
प्रतिक्रिया