काठमाडौँ — नेपाली बजारमा सुनको भाउ आज पुनः बढेको छ भने चाँदीको मूल्यमा भने गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ७५ हजार ६ सय रुपैयाँ पुगेको छ। यसअघि मंगलबार तोलामा ७ सय रुपैयाँ बढेर सुनको भाउ २ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो।
विगत केही समययता सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव भइरहेको छ। यसअघि गएको मंगलबार सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७४ हजार ३ सय रुपैयाँ पुगेको थियो भने आइतबार तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको थियो। त्यसअघिका चार दिनमा भने सुनको भाउ ५ हजार रुपैयाँ बढेको थियो। त्यस्तै, यही कात्तिक ८ गते सुनको भाउ एकैदिन तोलामा ११ हजार ७ सय रुपैयाँले घटेको थियो।
चाँदीको मूल्यमा थप गिरावट
सुनको भाउ बढे पनि आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा २० रुपैयाँले घटेर ३ हजार ६ सय ५५ रुपैयाँमा झरेको छ। यसअघि मंगलबार पनि चाँदीको भाउ तोलामा ४५ रुपैयाँ घटेर ३ हजार ६ सय ७५ रुपैयाँ कायम भएको थियो।
हालसम्मको उच्च रेकर्ड
नेपाली बजारमा यसअघि गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो।
त्यसैगरी, गत वर्षको माघ १५ गते चाँदीको भाउ तोलाको ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन चाँदीको अहिलेसम्मकै सर्वाधिक उच्च मूल्य हो। त्यसको केही दिनपछि अर्थात् माघ १८ गते भने चाँदीको मूल्यमा तोलामा १५ सय ६५ रुपैयाँको उच्च गिरावट रेकर्ड गरिएको थियो।
प्रतिक्रिया