काठमाडौं। नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज कुमार केसी नियुक्त भएका छन्।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले एआईजी केसीलाई नेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा पदोन्नति गर्ने निर्णय गरेको विवरण प्राप्त भएको छ।
यसअघि ३३औँ प्रहरी महानिरीक्षकका रूपमा कार्यरत दानबहादुर कार्कीलाई उक्त जिम्मेवारीबाट हटाउँदै सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको बताइएको छ।
पछिल्लो समय सरकार र निवर्तमान आईजीपी कार्कीबीचको सम्बन्ध चिसिएको र प्रहरी नेतृत्वप्रति राजनीतिक तथा प्रशासनिक तहमा असन्तुष्टि बढेको दाबी गरिएको छ। विशेषगरी उच्चप्रोफाइल अनुसन्धानसँग सम्बन्धित संवेदनशील फाइल, मन्त्रिपरिषद्का गोप्य रणनीति तथा राज्यका महत्त्वपूर्ण सूचनाहरू बाहिरिएको विषयलाई लिएर गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालय असन्तुष्ट रहेको विवरणमा उल्लेख छ।
यद्यपि, सूचना चुहावटसम्बन्धी आरोप र नेतृत्व परिवर्तनका कारणबारे सरकारको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।
नेपाल प्रहरीभित्र व्यावसायिक, निडर र कार्यकुशल अधिकृतका रूपमा परिचित डा. मनोज कुमार केसीले यसअघि विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता चर्चित तथा संवेदनशील अपराधको अनुसन्धानमा उनको भूमिका उल्लेखनीय रहेको बताइन्छ। केसीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखका रूपमा समेत काम गरिसकेका छन्।
प्रहरी संगठनभित्र व्यावसायिकता कायम राख्ने, राजनीतिक दबाबबाट संगठनलाई मुक्त गर्ने, सूचना सुरक्षालाई प्रभावकारी बनाउने तथा देशभर शान्ति-सुरक्षा सुदृढ गर्ने चुनौती नवनियुक्त आईजीपी केसीसामु रहनेछन्।
नयाँ नेतृत्वसँगै नेपाल प्रहरीको संगठनात्मक सुधार, अनुसन्धानको निष्पक्षता र जनविश्वास अभिवृद्धिमा कस्तो परिवर्तन आउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
प्रतिक्रिया