×

देशमा जानीजानी उत्पात मच्चाइयो, राज्य संयन्त्रलाई कमजोर पारियो, अराजकताको बिगबिगी बढाइयो-अध्यक्ष केपी शर्मा ओली

images

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनविरूद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा तत्काल फैसला दिन ध्यानाकर्षण गराएका छन्।शनिबार काठमाडौँ–ओखलढुंगा एमाले सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो संवेदनशील विषयमा सर्वोच्च अदालत मौन भएर बस्न नमिल्ने बताएका हुन्।

‘देशमा जानीजानी उत्पात मच्चाइयो, राज्य संयन्त्रलाई कमजोर पारियो, अराजकताको बिगबिगी बढाइयो,’ उनले भने,‘बहुमत सांसदहरूले सर्वोच्चमा निवेदन दिएका छन्, यस्तोमा सर्वोच्च अदालत चुपचाप कानमा तेल हालेर बस्न मिल्दैन, फैसला दिनुपर्छ, पुनः स्थापना गर्ने वा चुनाव गर्ने।’ विगमत संसद विघटनलाई सर्वोच्चले असंवैधानिक ठहर गरेको स्मरण गराउँदै ओलीले चुनावअघि फैसला सुनाउनुपर्ने बताए।

‘हामीले पुनःस्थापनको माग गरिरहेका छौँ, त्यो सुन्दै नसुन्ने अदालतले, संविधान मिचिएको छ, त्यो सुन्दै नसुन्ने अदालतले, अदालतले बोल्नुपर्‍यो संविधान मिचिएको छैन भने छैन भन्दिनुपर्‍यो, मिच्न पाइन्छ भनेर पनि अदालतले भन्दिनपर्‍यो, संविधान मिच्न मजाले पाइन्छ, हामी मानौँला,’ ओलीले भने, ‘सम्मानित सर्वोच्च अदालतको फैसला मानौँला, तर अदालतले भन्नु त प¥यो नि, संविधान मिच्न पाइन्छ, कहिले संसद भंग गर्नै पाइँदैन, कहिले मजाले पान्छ, त भन्दिनुस् न मजाले पान्छ भनेर, कमसेकम अदालत चुपचाप लागेर बस्न मिल्दैन, यस्तो मौनताले सम्बन्धित सस्थाको औचित्यमाथि प्रश्न उठ्छ।’

अध्यक्ष ओलीले संसद पुनः स्थापनासम्बन्धी मुद्दामा सर्वोच्चले चुनावअघि फैसला दिनुपर्नेमा जोड दिए। उनले भने,‘ अदालतले चुनावअगाडि बोल्नपर्छ, स्वतन्त्र न्यायालयलाई सम्मान गर्छौँै, अदालत चुप लगाएर बस्न मिल्दैन, हामी अविलम्ब फैसलाको माग गर्दछौँ।’ धाँधली गरेर हुने निर्वाचनको परिणाम स्वीकार नहुने भन्दै उनले सरकार हटाउन धेरै समय नलाग्ने चेतावनी दिए।

‘सरकारले स्वतन्त्र निर्वाचन गराउनुपर्दछ, यदि सरकार यसलाई जिताउने त्यसलाई हराउने भनेर लाग्छ भने निर्वाचनको परिणाम स्वीकार हुँदैन, देशका लागि अनिष्ठ हुनेछ,’ ओलीले भने,‘१० हजार मानिस लगाएर जनताबाट निर्वाचित सरकार हटाउन सकिन्छ भने लाखौँ मानिस उठेर यस्ता असंवैधानिक सरकार हटाउन लामो समय लाग्दैन हेक्का राख्न आग्रह गर्दछु।’

ओलीले अहिले कसैले टिको लगाइदिएको टिको सरकार रहेको जिकिर गरे। उनले भने,‘यो त सरकारै होइन, कसैले टिको लगाइदिएको टिको सरकार हो, जनताले अधिकार दिएको सरकारै होइन, यो त कृत्रिम सरकार हो, यस्तो सरकारको सिफारिसमा जसरी संसद विघटन भएको छ त्यसको न्यायिक निरुपण नगरेर चुनावमा जानु ठीक होइन।’

अध्यक्ष ओलीले फागुन २१ मा चुनाव हुनेमा शंका व्यक्त गरेका छन्। हिमाली र उच्च पहाडी भेगमा मान्छे नै नभएको बेला हुने चुनावको केही अर्थ नरहने उनको भनाइ छ। आफूविरूद्ध झापा–५ मा चुनाव लड्न गएका काठमाडौँका पूर्वमेयर बालेन्द्र साहलगायतलाई उनले ‘बतासे अन्डा’ को संज्ञा दिएका छन्। विचार र उद्देश्य नभएकाहरू गलत राजनीति गरिरहेका ओलीले आरोप लगाए।

‘बतासे अन्डाबाट चल्ला निक्लिँदैन, यी बतासे अन्डाहरूबाट पनि कुनै चल्ला निस्किनेवाला छैन,’ ओलीले भने,‘ उनीहरु बतासका खेती गरिरहेका छन्, संगठन छैन, विचार छैन, भोलि उठी कहाँ जाने थाहा छैन, फर्कि आउने हो कि होइन त्यो पनि थाहा छैन।’ उनले तोडफोड, लुटपाटजस्ता कुरालाई क्रान्ति भनेर महिमामण्डन गरिरहेको आरोप लगाए।

शनिबार १८ माघ २०८२ ०७:२५ PM मा प्रकाशित

प्रतिक्रिया